चैत्र १५, २०८० बिहिबार । March 28, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । कैलालीको टीकापुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू आजभोलि व्यस्त छन् । उनीहरू दैनिक विद्यालयमा शिक्षण गर्छन् भने फुर्सदका समयमा वार्षिक शैक्षणिक योजना बनाउन थालेका छन् । कतिपय विद्यालयका शिक्षकले योजना निर्माण गरिसकेका छन् भने कतिपय शिक्षक योजना निर्माणमा व्यस्त छन् ।

टीकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षकले आपूmले शिक्षण गर्ने विषयको शैक्षणिक योजना अनिवार्य बनाउनैपर्ने नीति लागू गरेपछि शिक्षकहरू योजना निर्माणमा जुटेका हुन् । आफूले पढ्दा शैक्षणिक योजना निर्माणको अभ्यास गरिसकेकाले खासै गाह्रो महसुस नभएको खड्ग मावि टीकापुरका शिक्षक रामकुमार चौधरीले बताए । “मैले आफू विद्यार्थी हुँदा शैक्षणिक योजना बनाएको अनुभव थियो, त्यसैले मलाई खासै गाह्रो भएन”, उनले भने , “पढाउने विषयको शैक्षणिक योजना निर्माण गरिसकेको छु । अब योजनाअनुसार अध्यापन गर्न सहज हुनेछ ।”

टीकापुरले शिक्षकलाई यो खालको अभ्यास गर्न पहिलोपल्ट अनिवार्य गरेको छ । त्यसैले पनि धेरैलाई केही न केही कठिन महसुस भएको छ । आफूलाई केही विषयको शैक्षणिक योजना निर्माण गर्दा केही कठिन भएको नवदुर्गा आधारभूत विद्यालयका शिक्षक भगिरथ चौधरीले बताए । “पहिलोपटक निर्माण गर्न थालेकाले केही कठिन भएको छ । तर पालिकाको निर्देशन मान्नुपर्छ”, उनले भने , “मेहनत गरिरहेको छु, मेहनतले पछिका लागि सहज बनाउनेछ । योजना बनाएमा मलाई पूर्वतयारीका साथ शिक्षण गर्न सहज हुन्छ ।”

केदारेश्वर आधारभूत विद्यालयका शिक्षिका मङ्गला मिश्रले शैक्षणिक योजना निर्माणबारे आफूलाई जानकारी नभएको बताए । “मलाई जानकारी नभएकाले बनाएको छैन । अब योजना निर्माणमा लाग्छु”, उनले भने ।

कुनै पनि काम योजना निर्माण गरी अगाडि बढ्दा सहज, छिटो र उपलब्धिमूलक हुने भएकाले शिक्षकले वार्षिक शैक्षणिक योजना निर्माण गरी पठनपाठन गर्न अनिवार्य गर्नु सकारात्मक भएको शिक्षकहरू नै बताउँछन् । “शिक्षक शिक्षकमात्र नभई विद्यार्थी पनि हो । एउटा शिक्षकले कक्षा कोठामा प्रवेश गर्नुपूर्व विषयवस्तुको अध्ययन गरी पूर्वतयारी गर्नुपर्छ अनि मात्र कक्षा प्रवेश गर्दा राम्रो मानिन्छ”, शिक्षक रवीन्द्रबहादुर कठायत भने , “कुन विषयवस्तु कसरी शिक्षण गर्ने, कस्ता शैक्षिक सामग्री प्रयोग गर्ने भन्ने विषयमा शिक्षकले तयारी गर्न जरुरी छ । योजना निर्माणले शिक्षकलाई अध्ययनशील हुन सघाउँछ ।”

शैक्षिक प्रक्रियामा शैक्षणिक योजना निर्माण अनिवार्य हो । सुरु–सुरुमा निर्माण गर्दा केही कठिनजस्तो देखिए पनि पछि–पछि सजिलो हुने टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीले बताए । “निर्माण गर्दा अलि कठिन हुन्छ, तर योजना पहिल्यै बनाएमा पछि शिक्षकलाई धेरै सहज हुन्छ”, उनले भने , “हरेक काम योजना बनाएर गर्दा सहज हुन्छ । अझ शिक्षाजस्तो क्षेत्रमा लापरवाही गर्नै मिल्दैन । योजनाअनुसार अध्यापन गरेमा विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा समेत सहयोग हुन्छ ।”

शैक्षणिक योजना निर्माणपश्चात एक प्रति शिक्षा शाखामा राखिने र योजना हेरी आवश्यक सुझाव दिने पालिकाको तयारी छ । यसरी शैक्षणिक योजना पालिकामा समेत बुझाउनुपर्ने भएकाले शिक्षकले शैक्षणिक योजना बनाए÷नबनाएको विद्यालयमा गई अनुगमन पनि गरिने चौधरी बताए । “योजना निर्माणपश्चात सिकाइ उपलब्धिमा वृद्धि हुनेछ”, उनले भने , “पालिकालाई विद्यालयको अनुगमन गर्न, योजना बनाउनसमेत सहयोग पुग्छ ।”

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com