काठमाडौं । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाइ अमेरिका पठाउने प्रलोभनमा चर्को रकम असुली गर्ने गिरोहमा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसका पूर्वसाँसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
२०७९ चैत १२ देखी यही प्रकरणमा हिरासतमा रहेका कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकिय सचिव केशव दुलाल एवम् सानु भण्डारीलाई भेट्नसमेत गएका शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै अब उनलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ ।
आङटावाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका थिए । हिरासतमा गएर शेर्पाले कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आरोपीहरूसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएको थाहा भएको छ ।
उनी २०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।
प्रतिक्रिया