चैत्र ५, २०८० सोमबार । March 19, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निमार्ण गरिएका अनधिकृत संरचना हटाउनका लागि डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिका–२५ ड्राइपोर्टस्थित सार्वजनिक जग्गामा निमार्ण गरिएका अनधिकृत घर टहरा डोजरको सहायताले भत्काउन सुरु गरिएको हो ।

महानगरको प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारका अनुसार ड्राइपोर्ट चोक नजिकै करिब १७ कट्ठा सार्वजनिक जग्गामा टहराहरु निर्माण गरिएका छन् । सो स्थानमा निमार्ण गरिएका ४ वटा पक्की भवन तथा १७ वटा टहरामा डोजर लगाएर हटाइएको हो ।

‘ऐलानी जग्गामा लामो समयदेखि मानिसहरुले बसोवास गर्दै आएका थिए । बारम्बार जग्गा खाली गर्न सुचना प्रचारप्रसार गरेपनि सरकारी जग्गाामा बस्दै आएका वासिन्दाहरुले जग्गा खाली नगरेपछि निर्माण गरिएका टहराहरु भत्काउन बाध्य भएको महानगरपालिकाले जनाएको छ ।

अतिक्रमण हटाउने क्रममा स्थानीयले अवरोध समेत गरे । जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा प्रहरी टोली पुगेपछि उनीहरुलाई हटाइएको हो ।

३२ वटै वडामा महानगरले अतिक्रमणमा परेका सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्न, भौतिक पूर्वाधार अतिक्रमण खाली गर्न समिति बनाएको छ ।

महानगरले वडा नम्बर १९ मा करिब १६ विघा र वडा नम्वर २४ सिर्सिया पुल नजिक २ कट्ठा १० धुर जग्गा अतिक्रमण मुक्त गराइसकेको छ । चिल्ड्रेन पार्कको अतिक्रमण हटाउने काम चलिरहेको र अन्य वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी गरिरहेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com