चैत्र ३, २०८० शनिबार । March 16, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सत्तागठबन्धनको आजको बैठकमा सबै पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री बन्ने सांसदहरुको नाम बुझाएका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागि हुन चाहेका दलहरुले नामावली बुझाएका हुन् ।

बुधबार साँझ बसेको बैठकले मन्त्रालयको संख्या टुंगो लगाएको थियो । जसअनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भागमा ८ मन्त्रालय, सत्ताको नेतृत्वमा रहेको नेकपा (माओवादी केन्द्र)को भागमा ५ मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा)को भागमा २ मन्त्रालय, नेकपा (एकिकृत समाजवादी)को भागमा २ मन्त्रालय तथा लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले १–१ मन्त्रालय पाउने सहमति भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड आज नै एक विमानस्थल भवनको शिलान्यासको लागि चितवन जान लागेकोले उनी फर्किएपछि आजै दुई बजे गठबन्धनको बैठक बस्ने र थप छलफल गरेपछि मन्त्रीहरुको सपथ गराउने तयारी भएको छ । मन्त्रालयको भागबन्डा संख्या मिलेसँगै अब मन्त्रालयको टुंगो लाग्न बाँकी रहेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सबै दलसँग मन्त्रीको नाम मागेको र मन्त्रालय टुंगो लाग्न बाँकी रहेको नेता श्रेष्ठको भनाइ रहेको छ । श्रेष्ठले कुन दलले कुन नेताको नाम दिए भन्ने बारे भने केही खुलाएनन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com