आश्विन ८, २०८० सोमबार । September 25, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि निःशुल्क वितरण गर्न थालेको छ । वडा कार्यालयले ६० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्न थालेको हो ।

वडाका धेरै ज्येष्ठ नागरिक उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको पाइएपछि वडाले बजेटको व्यवस्था गरी औषधि वितरण थालेको हो । चालु आर्थिक वर्षमा रु चार लाख बजेट व्यवस्था गरी औषधि वितरण थालिएको वडाध्यक्ष विमल राईले जानकारी दिए । स्वास्थ्यचौकी ओयामबाट उच्च रक्तचाप र मधुमेहको औषधि खाने ६० वर्षमाथिका वडावासीको तथ्याङ्क सर्वेक्षणपछि वडाले स्वास्थ्य शिविर आयोजना गरेको थियो । वडाध्यक्ष राईका अनुसार स्वास्थ्य परीक्षणपछि उच्च रक्तचाप र मधुमेहको औषधि वितरण थालिएको हो ।

“अहिले ६० वर्ष कटेका ५४ जना उच्च रक्तचाप र मधुमेहका बिरामी भेटिएका छन् । उनीहरुमध्ये सात जना दुवै समस्याबाट ग्रसित छन्”, वडाध्यक्ष राईले भने, “कतिपयले औषधि खाने गर्नुभएको रहेछ भने रोग लागेको भए पनि कतिपयले औषधि सेवन नगरेको पायौँ ।” वडाले निःशुल्क औषधि वितरण गरेपछि भने सबैले औषधि सेवन गर्न थालेको वडाध्यक्ष राईको भनाइ छ ।

वडाको बजेटबाट याङवरक गाउँपालिकाको स्वास्थ्य शाखाले औषधि खरिद गरी स्वास्थ्यचौकी ओयाममार्फत वितरण थालेको छ । “बिरामीले सेवन गर्ने गरेका उच्च रक्तचाप र मधुमेहका २३ प्रकारका औषधि खरिद गरी वितरण गरेका छौँ”, उनले भने, “त्रैमासिकरूपमा औषधि वितरण गर्ने योजना बनाएका छौँ ।” हालसम्म छ महिनाको औषधि वितरण भइसकेको उहाँले जानकारी दिए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com