चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले यही माघ १५ देखि प्रत्येक वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट वितरणको तयारी थालेको जनाएको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार वडा कार्यालयबाट परिचयपत्र उपलब्ध गराउनका लागि सम्बध भएका निकायसँग छलफल भइरहेको छ । उनले भने, ‘कामपाको ३२ वटै वडाबाट उक्त सुविधा उपलब्ध गराउनका लागि कामपाले राष्ट्रिय पञ्जिकरण विभागसँग छलफल भइरहेको छ । ‘

छलफल सकारात्मक रहेकाले आगामी माघ १५ देखि वडा कार्यालयबाटै नागरिकले राष्ट्रिय परिचय प्राप्त गर्ने विश्वास कामपाले लिएको छ । यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो ।

सरकाले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्यांकका आधारमा राष्ट्रिय परिचय नं सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले परिचयपत्र वितरणको कार्य सुरु गरिएको हो ।

उक्त परिचयपत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति पत्नीको नाम, बाजेको नाम औँला छाप व्यक्तिगत विवरण समावेश गरिएको हुन्छ । सोह्र वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले नेपाली उक्त परिचयपत्र लिने सक्ने व्यवस्था रहेको छ ।

व्यक्तिका वैयक्तिक र जैविक सूचनालाइ आधिकारिक रूपमा संकलन गरी प्रत्येक नागरिकलाई एकअर्कासँग मेल नखाने परिचय नं दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य रहेको छ । नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचयपत्र हो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com