चैत्र ११, २०८० आइतबार । March 24, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

साओ पाउलो । ब्राजिलियन महान खेलाडी पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज भिला बिलमिरो रंगशालामा राखिँदैछ।

दाहसंस्कार गरिनु अघि पेलेलाई रंगशालमा गएर उच्च पदस्थ अधिकारी, खेलाडी, प्रशिक्षक र समर्थकले अन्तिम पटक श्रद्धाञ्जलि दिनेछन् ।

भिला बिलमिरो सान्तोष फुटबल क्लबको मैदान हो । पेलेको व्यावसायिक फुटबल करियर सान्तोषबाटै सुरु भएको थियो ।

विश्व फुटबलको राजा उपनामले परिचित पेलेको क्यान्सरका कारण गत बिहीबार राति साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा निधन भएको थियो ।

पेलेको पार्थिव शरीरलाई रंगशाला लैजानु अघि अस्पतालमा समर्थकको भीड लागेको छ । राष्ट्रपति निर्वाचनका कारण विभाजित ब्राजिलियनहरुलाई पेलेले फेरि एकताबद्ध बनाइदिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्

। यसअघिका राष्ट्रपति जाइर बोल्सोनारोले पेलेको निधनमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका थिए । बोल्सोनारोलाई प्रतिस्थापन गरेका लुइस इनासियो लुला दा सिल्भा पनि पेलेको श्रद्धाञ्जलि सभामा उपस्थित हुने बताइए पनि यकिन भने भएको छैन ।

रंगशालामा हजारौँ मानिस जम्मा हुने अनुमान गरिएको छ । ब्राजिलले राष्ट्रिय सम्पत्ति घोषणा गरेका पेले तीन पटकका फिफा विश्वकप विजेता हुन् । उनको निधनसँगै एक युगको अन्त्य भएको छ । पेलेको भोलि दाहसंस्कार गरिने जानकारी दिइएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com