मंसिर ७, २०८० बिहिबार । November 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’को टिजर बिहिबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ । समारोहमा यो फिल्मको टिजर हेर्ने क्रममा सबैले हलिउडको युद्ध सम्बन्धि फिल्मको टिजर हेरेको जस्तो लागेको प्रतिक्रिया दिए । सिनेमाको टिजरलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ ।

यो चलचित्रलाई भर्सटाईल निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । निर्देशक चाम्सले पहिलो पटक बीर गोर्खालीको युद्ध कथालाई जादुई रुपमा गोर्खा वारियर मार्फत कुशलता पूर्वक ससक्त रुपमा उतारेको सञ्चारकर्मीहरुले बताए ।
‘युद्ध सम्बन्धि सिनेमाको यो टिजर हलिउडको कुनै वार मूभिको भन्दा कम छैन । यो टिजर हेर्दा साँच्चै अन्तराष्ट्रिय स्तरको फिल्म तपाईले बनाउनु भएको छ ।’

फिल्मको टिजर हेरेपछि सञ्चारकर्मीहरुले निर्देशक मिलन चाम्सलाई भने । शसस्त्र प्रहरी बल नेपालका पूर्व आईजिपी शैलेन्द्र खनाल ‘सरद’ले आफु पनि सेवामा रहँदा युद्धलाई निकै नजिकबाट देख्न र भोग्न पाएको तर यत्ति राम्रो युद्धको दृष्य नेपाली फिल्ममा पहिलो पटक देखेको बताए । साँच्चै अन्तराष्ट्रिय स्तरको यो फिल्मको टिजर बनेको पनि उनले बताए ।

निर्देशक मिलन चाम्सले विश्वमा परिचित गोर्खा सैनिकले पहिलो बिश्वयुद्ध देखि अहिलेसम्म धेरैवटा युद्ध लडेको स्मरण गराए । उनीहरुसँग कैयौं युद्धसँगै पारिवारिक मार्मिक कथा भएको र त्यो मध्य एउटा बास्तविक कथालाई यसपटक पर्दामा उतारेको चाम्सले कार्यक्रममा बताए । पहिलो पटक आफुले यो फिल्मलाई नेपाली, हिन्दी र अँग्रेजीसहित तीन भाषामा अन्तराष्ट्रिय रुपमा तयार गरेको पनि उनले जानकारी गराए ।

निर्देशक चाम्सका अनुसार सन १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई यो चलचित्रमा उतारिएको छ । टिजरमा पनि सोही युद्धको झलक प्रस्तुत गरिएको उनले प्रकाश पारे । यस अघि चलचित्रको फस्ट लुक्सले चर्चा कमाएको थियो । अहिले टिजरलाई दर्शकले त्यत्तिकै मन पराएकोमा निर्देशक चाम्सले खुसी व्यक्त गरेका छन्।

यस अघि नौ वटा सफल चलचित्र निर्देशन गरिसकेका भर्सटाईल निर्देशक मिलन चाम्सले यसपटक बृटिस गोर्खा सैनिकले ‘मलाया इमरजेन्सी जँगल वार’ युद्धमा गरेको सँघर्ष र उनीहरुको साहसिक कथालाई गोर्खा वारियर मार्फत विश्वका सिनेमा हलमा ल्याउन लागेको बताए । आगामी जुनमा यो चलचित्रलाई बेलायतमा १० हजार दर्शकमाझ विशेष प्रदर्शन गर्ने पनि उनले जानकारी गराए ।

यो चलचित्रका सह निर्माता सुरेश राईले बीर गोर्खाली सैनिकका कथा मार्फत नेपाललाई सिनेमाको माध्यमबाट सँसारभर चिताउन आफु यो फिल्मको निर्माणमा जोडिएको बताए ।

‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै गोर्खा वारियरमा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको मुख्य भूमिको छ ।
यो चलचित्रको नेपाल र मलेशियामा छायाँकन भएको हो ।

गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । यस्तै यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।

यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे र सहनिर्मातामा रुपमा सुरेश राई छन्

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com