चैत्र १६, २०८० शुक्रबार । March 29, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । संघ र प्रदेश निर्वाचन सम्पन्न भएसँगै नेपाल पत्रकार महासंघ अन्तर्गतगतका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन धमाधम भइरहेको छ । यतिखेर नेपाल पत्रकार महासंघ केन्द्रले यहीं पुस ८ र ९ गतेका लागि साधारण सभा तोकेको छ । उक्त साधारण सभा काठमाडौंमा नगरी सूर्खेतमा गर्ने निर्णय गरेको छ । यस साधारणसभाले कस्तो सन्देश दिने हो आमपत्रकारहरुलाई कौतुहलको विषय बनेको छ ।

तर, अधिकांश पत्रकारहरुले, ‘यो पत्रकारहरुको साधारण सभा होइन, कुनै राजनीतिक दलको महाधिवेशन जस्तै भेला हो’ भन्दै आएका छन् । पत्रकार महासंघले यो साधारण सभा सम्पन्न गर्दै गर्दा पत्रकारहरुको हकहितको बारेमा आवाज उठाउँछन् कि आफ्नो एजेन्डालाई भँजाउँछन् त्यो भने हेर्न बाँकी नै छ । यतिखेर अधिकांश पत्रकारहरु आफ्नो पेशा व्यवसायलाई थाती राखेर साधारणसभामा होमिन लागेका छन् । तर, कतिपय पत्रकारहरु यतिखेर आर्थिक मारमा परेर आफ्नो पकाशन नै बन्द गर्नुपर्ने अवस्थामा पुगिरहेका छन् ।

कतिपय पत्रकारहरु आफूले काम गरेको मिडिया हासउबाट पारिश्रमिक नपाएर कोठा भाडासमेत तिर्न नसकेर भौतारिरहेको अवस्था छ । कतिपय पत्रकारहरुको अवस्था पनि नाजुक हुँदै गएको छ । यी पत्रकारहरुको बारेमा मत्रकार महासंघका नेताहरुले कुनै पनि योजना ल्याउन सक्ने अवस्था देखिँदैन । किन कि यो त एउटा भेला गर्ने निहँु मात्रै देखिन्छ । यस्ता साधारणसभा त कैयौं पटक विभिन्न कालखण्डदेखि गर्दै आएका थिए ।

त्यसरी आए तापनि पत्रकारको बारेमा कुनै ठोस योजना अहिलेसम्म ल्याउन सकेका छैनन् । चुनावका बेला उठाइएका मुद्दाहरु कागजमा मात्रै सिमित हुँदै आएका छन् । भोलिका दिनमा पनि कुनै ठोस योजना पत्रकारको पक्षमा ल्याउँछन् भन्ने आशा पत्रकारहरुले गरेका छैनन् । अहिले अधिकांश जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमिति राजनीतिक दलमा झुकाव भएका असन्तुष्ट कार्यकर्ता थन्क्याउने थलोको रुपमा स्थापित भएका छन् ।

पत्रकार महासंघको चुनावमा राजनीतिक दलको जस्तै भागबन्डाको आधारमा गठबन्धन गरेर लड्ने क्रम चलेको तीन÷चार कार्यकाल भइसकेको छ । यसरी भागबन्डाको आधारमा गठबन्धन गरेर पत्रकार महासंघको चुनाव गर्दा श्रमजीवी पत्रकार भन्दा पनि राजनीतिक दलको छत्रछायाँ र नेताको चाकडी गर्ने व्यक्तिहरुले चुनाव जित्ने गरेका छन् । यसले विसुद्ध पत्रकारिता मात्रै गर्ने व्यक्ति पत्रकार महासंघको नेतृत्वमा पुग्नबाट बन्चित भएका छन् ।

आगामी दिनमा पनि विसुद्ध पत्रकारिता पेशा मात्रै अँगाल्नेहरु पत्रकार महासंघको कुनै पनि नेतृत्वमा पुग्ने सम्भावना छैन । अहिले पत्रकारिताको नाममा ठेकेदारी प्रथा लागु भएको छ । त्यसमा राजनीतिक ठेकेदार, आर्थिक ठेकेदार, व्यापारिक ठेकेदार औद्योगिक ठेकेदर, बालुवा, ढुंगा, रोडा, इँटा, कार्पेट, रंगरोगन, भन्सार, प्रहरी प्रशासन, कर्मचारी तन्त्र, स्वास्थ्य, शिक्षा, वैदेशिक रोजगारी, एनआरएनलगायतका क्षेत्रमा संलग्न रहेका व्यक्तिहरुको पत्रकार महासंघमा हालिमुहाली हुने गरेको उदाहरण थुप्रै छन् ।

त्यस्ता प्रकृतिका व्यक्तिहरु हावी हुँदा पत्रपत्रिका र श्रमजीवी पत्रकारको हकअधिकार पुरै ओझेलमा पर्दै आएको छ । यस्ता व्यक्तिहरुको पत्रकार महासंघमा हालीमुहाली हुनुको मुख्य कारण भनेको सदस्यता सुद्धिकरणमा ध्यान नदिनु नै हो । जब नेपाल पत्रकार महासंघको जिल्ला शाखा, प्रदेश र केन्द्रको चुनाव तोकिन्छ अनि प्याकेजमा आ–आफ्ना दल निकट विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुलाई हचुवाको भरमा पत्रकारको सदस्यता दिने गरिन्छ ।

त्यस्ता व्यक्ति सदस्य भएपछि उनीहरुले आफ्नो पेशा निकट व्यक्तिलाई आर्थिक प्रभावमा पारेर जिताउने गर्दछन् । ती पेशा व्यवसायमा लागेका व्यक्तिहरुलाई आइपर्ने समस्या समाधानको लागि पत्रकारिताको आडमा सहयोग गर्ने गरिन्छ । तर, विसुद्ध पत्रकारिता पेशा अँगालेका व्यक्तिको मुद्दा भने मुखरित हुँदैन । अहिले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले गर्ने सूर्खेत भेला पनि यहीं प्रकृति हो । किन भने नेपालका सबैभन्दा धेरै पत्रकार कार्यरत रहेको स्थान भनेको काठमाडौं नै हो । जहाँ पत्रकार महासंघको भवन पनि खडा छ ।

यो भवन नेपाल सरकार र केही संघसंस्थानहरुको सहयोग खडा गरिएको थियो । किन भने पत्रकारको आर्थिक अवस्था कमजोर हुने भएकाले भेला, गोष्ठी, सेमिनार, कार्यालय र तालिमको लागि भनेर उक्त भवन खडा गरिएको थियो । तर, पछिल्लो समयमा आएर पत्रकारिताको नाममा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरु सामेल हुन थालेपछि त्यो भवनलाई ओझेलमा पारेर कार्यसमिति बैठकसमेत विभिन्न डाँडाकाडामा खडा गरिएका टुरिष्टहरु जाने महंगा रिसोटहरुमा गरिन थालिएको छ ।

यसरी महंगा रिसोटहरुमा भेगा, गोष्ठी, तालिम, कार्यसमिति बैठक गर्ने आय स्रोत कहाँबाट जुट्छ । जब कि नेपाली पत्रकारहरुले महासंघको साधारण सदस्य नविकरण गर्ने पैसा भनेको बेलामा नभएर सदस्यता नविकरण नगरी बस्ने गरेका छन् । सदस्यता नविकरणसमेत गर्न नसक्ने पत्रकारलाई प्लेन चढेर राजधानीबाट बाहिर गएर बैठक बस्ने, भेला गर्ने, साधारणसभा गर्ने पैसा कहाँबाट आउँछ । अनि यसरी हप्तौंसम्म काठमाडौंबाट टाढाटाढा गएर भेला, गोष्ठी, सेमिनार र साधारणसभामा भाग लिन जान विभिन्न मिडियामा कार्यरत पत्रकारको जागिर कसले जोगाइदिन्छ ।

त्यसकारण उपत्यकामा सबैभन्दा धेरै पत्रकार कार्यरत रहेको ठाउँलाई छाडी बाहिर गएर साधारणसभा गर्नु भनेको आफ्ना कालाकर्तुत लुकाउनु हो । यहाँ साधारणसभा गर्दा सबै श्रमजीवी पत्रकारहरु पनि जान्छन् जो मिडियामा जागिरे हुन्छन् । उनीहरुले श्रमजीवीका कुरा उठाउँछन्, व्यसायिक हकहितका कुरा उठाउँछन्, पत्रपत्रिकाको समस्याको कुरा उठाउँछन् भनेर त्यसलाई ओझेलमा पार्नको लागि बाहिर साधारणसभा लगिएको हुनुपर्छ ।

जहाँ श्रमजीवी र व्यवसायिक पत्रकारहरुको भीड नलागोस् भनेर नै त्यो साधारणसभा काठमाडौं बाहिर लगिएको हो भन्ने भनाइ आमश्रमजीवी पत्रकारहरुको छ । कतिपय पत्रकारहरु बिरामी भइ औषधि उपचार गर्ने पैसा समेत नभएर अस्पतालको बेडमा छटपटाइरहँदा पत्रकार महासंघ भने मुकदर्शक भएर बस्ने गरेको थुप्रै उदाहरण हामी माझ जगजाहेर छ । तर, महासंघ केन्द्रले भने लाखौं खर्च गरेर काठमाडौंबाट टाढा सूर्खेत गएर साधारणसभा गर्दै छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com