चैत्र ११, २०८० आइतबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

बेइजिङ । कोभिडसम्बन्धी प्रतिबन्धहरु सहज गरिएपछि चीनमा कोरोना महामारी पुनः फैलिँदै गएको छ । कोरोना संक्रमण उच्च भएपछि देशको सबैभन्दा ठूलो सहर सांघाईमा अधिकांश विद्यालयहरु सोमबारदेखि बन्द गर्न आदेश दिइएको छ ।

विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न भनिएको छ । सोमबारदेखि शिशु सदन र बाल स्याहार केन्द्रहरु पनि बन्द हुने सांघाई शिक्षा ब्यूरोले जनाएको छ ।

शिक्षक र कर्मचारी कोरोनाबाट संक्रमित भएपछि केही विद्यालयहरुमा यसअघि नै भौतिक कक्षाहरु बन्द गरिसकिएको छ ।

शून्य कोभिड नीतिको विरोधमा व्यापक जनप्रदर्शन भएपछि यसै महिनाको सुरुमा चीनले लकडाउनलगायतका कोभिडसम्बन्धी प्रतिबन्धहरु निकै खुकुलो पारेको थियो । तर प्रतिबन्धहरु खुकुलो बनाएलगत्तै कोरोना संक्रमण दर बढ्दै गएको र यो गत अप्रिलको उच्च बिन्दुभन्दा पनि माथि पुगेको समाचारमा जनाइएको छ ।

अस्पताल र स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा बिरामीको चाप बढेको छ । देशका विभिन्न स्थानमा अस्थायी स्वास्थ्य केन्द्र र सघन उपचार केन्द्रहरु बनाउन सुरु गरिएको छ । सांघाईका अस्पतालहरुमा दुई लाख ३० हजार अतिरिक्त शैय्या थपिएकोछ ।

राजधानी बेइजिङमा पनि कोरोना संक्रमण बढेको छ । संक्रमण रोक्न बेइजिङका बासिन्दालाई नेजल स्प्रेका रुपमा खोपको बुष्टर डोज दिन सुरु गरिएको छ । चीनले आफ्नो एक अर्ब ४० करोड जनसंख्यालाई कोरोनाको सामान्य लक्षणलाई घरमै उपचार गर्न र गम्भीर अवस्था देखिन थालेपछि मात्रै अस्पतालमा जान भनेको रोयटर्सले जनाएको छ ।

सन् २०१९ को डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान सहरमा पहिलो पटक कोभिड – १९ देखिएको थियो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com