चैत्र १२, २०८० सोमबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसद चयन गरेको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको टुङ्गो लगाएको महामन्त्री गगन थापाले बताए । संघीय संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य रहेकाले कांग्रेसले समानुपातिकबाट तीन जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय गरेको हो ।

उनका अनुसार कांग्रेसले खसआर्यको पहिलो नम्बर रहेका डा।प्रकाशशरण महत, मधेसीको पहिलो नम्बरमा रहेका विमलेन्द्र निधि र दलितको पहिलो नम्बरमा रहेका जीवन परियारलाई सांसद बनाउने निर्णय गरेको हो ।

आदिवासी जनजातिको पहिलो स्थानमा रहेका गोपालमान श्रेष्ठ, थारुको पहिलो नम्बरमा रहेका योगेन्द्र चौधरी, मुस्लिमको पहिलो नम्बरमा रहेका फरमुल्लाह मन्सुरलाई रोकेर कांग्रेसले महत, निधि र परियारलाई अवसर दिएको थापाले जानकारी दिए ।

निर्वाचन आयोगमा कांग्रेसले बुझाएको बन्द सूचीको क्रमअनुसार खस–आर्य महिलाबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला, कान्तिका सेजुवाल र मैना रावल कार्कीलाई सांसद बनाउने भएको छ भने सेजुवालले पिछडिएको क्षेत्रबाट समेत प्रतिनिधित्व गर्ने बताइएको छ ।

आदिवासी जनजातिबाट सरस्वती बजिमय, लीलादेवी बाखिम लिम्र्ब सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापा मगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ र रेनुका काउचा सांसदमा निर्वाचित हुने भएकी छिन् ।

मधेसी कोटाबाट पुरुषको १ नम्बरमा नाम रहेका निधि छनोट हुँदा चार जना महिलाले अवसर पाउने भएकी छन् । जसमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल सांसद बन्ने भएकी छन् । दलिततर्फ ५ जनाको प्रतिनिधित्व हुनेछ । यसमा पुरुषतर्फ सहमहामन्त्री परियारलाई सांसद बनाउने निर्णय पार्टीले लिए चार महिला सांसद हुने भएकी छिन् ।

दलितबाट महासनाई नेपाली, शान्ति विक, रूपा विक र सीता मिजार सांसदमा निर्वाचित हुने भएकी छन् । मुस्लिमतर्फ कम्तीमा एक जनाको प्रतिनिधित्व गर्दा जावेदा खातुन सांसद बन्नेछिन् । थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेतलाई सांसद बनाउने कांग्रेसले निर्णय गरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ३२ जना सांसद सूची दिउँसो ४ बजेभित्र निर्वाचन आयोगमा बुझाउने तयारी छ । अहिले सांसदहरूको कागजात मिलाउने काम भइरहेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com