महोत्तरीको जलेश्वर नगरपालिका–८ की २१ वर्षीय सोनालीकुमारी सिंह (निहारिका राजपुत) आफूमाथि अन्याय भएको तथा बलात्कारबाट जन्मिएको छोरासमेत बाबु विहीन भएकोले आफूमाथि बलात्कार गर्ने पुरुषलाई पक्राउ गरी डीएनए परीक्षण गर्नुपर्ने मुख्य माग राखेर अनसन बसेकी थिइन् । त्यतिबेला एउटा प्रकरणमा जोडिएर सामाजिक सञ्जालका एक पक्षीय प्रहारको शिकार भएकी अधिकारकर्मी जस्मिन ओझाले निहारिकाको माग लेखिएको ब्यानरसहितको तस्विरहरु सार्वजनिक गरेकी थिइन् ।
जनकपुरका एक पुरुषले आफूमाथि बलात्कार गरेपछि बसेको गर्भबाट जन्मिएको भन्दै नाबालक छोरासहित निहारिका राजपुतले पहिलो पटक आमरण अनसन थालेकी थिइन् । त्यसबेला आफूलाई महिला अधिकारकर्मी बताउने केही महिलाहरुले उनका पक्षमा आकासै खसालुला भैंm गरेर कोकोहोलो मच्चाए । निहारिका र उनको नाबालक छोरासहितको तस्वीरमा आफूलाई टाँस्ने प्रतिस्पर्धा नै चल्यो ।
त्यसभन्दा अगाडि भने निहारिकाले नै एक सञ्चार संस्थालाई आफू पीडित भएको जानकारी गराएकी थिइन् । सामाजिक सञ्जालमा उक्त सामाग्री राख्दा निहारिकाले आफू हिंसामा परेकाले बोलेको र सबैले साथ दिने अपेक्षा राखेको उल्लेख गरेकी थिइन् । उनी त्यस संचार संस्थामा पनि जस्मिनकै सहयोगले पुगेको स्पष्ट थियो ।
त्यसपछि उनको भनाइ समेटिएको समाचार सामग्री उक्त सञ्चार गृहले प्रकाशित गरेको थियो । आफू यौन हिंसा पीडित भएको भए तापनि न्यायको लागि अनुहार नलुकाई लड्ने निहारिकाको अठोटलाई प्रकाशित गरिएपछि त्यसलाई धेरैले आफ्नो सामाजिक सञ्जालको मसला बनाए । त्यसपछि निहारिकालाई अधिकारकर्मी दावी गर्नेहरु र विभिन्न सञ्चार माध्यमले समेत कुमारी आमाको रुपमा चर्चामा मात्र ल्याएनन् कसले कडा शब्द चयन गर्ने भन्ने होडबाजी नै चल्यो ।
निहारिकालाई नाबालक छोरा बोकाएर सडकमा नारा उराल्नेमा ‘बलात्कारी पुरुषको लिंग काट्नु पर्छ’ भन्दै माइतीघर मण्डलामा पेटीकोट प्रदर्शन गरेर चर्चामा आएकी सावित्री सुवेदीदेखि ‘म आफैं राज्य हुँ’ भन्दै काममा खटिएका सुरक्षाकर्मीलाई रंगभेदी गाली गर्न पछि नपर्ने ज्वाला संग्रौलासम्म थिए । उनीहरुको त्यस कार्यले निहारिकाको आत्मबल ह्वात्तै बढेको थियो । म माथि बलात्कार जस्तो जघन्य अपराध गर्ने सुरक्षित छ तर म पीडित असुरक्षित भएँ भन्दै अलापबिलाप गर्दा उनलाई ‘तिमी पीडित होइनौ योद्धा हौ’ भन्दै हौस्याउनेहरुको लर्को थियो ।
आफ्ना पक्षमा भरिएको सामाजिक सञ्जाल, छापा र अनलाइन मिडियाको बलले गर्दा निहारिकाले नाबालक छोरा काखी च्यापेर आमरण अनसन थालिन् । जेठ २७ मा सुरु भएको उनको अनसनमा अरु महिला अधिकारकर्मीहरु जोडिए । निहारिकाले न्याय नपाएसम्म ज्यानै दिन पछि नपर्ने भन्दै चर्का भाषण पनि गरे ।
तर, निहारिकाले निषेधित क्षेत्रमा अनसन बसेको भन्दै प्रहरीले त्यहाँबाट हटायो । निहारिका, उनको नाबालक बच्चा र उनीसँगै अनसन बसेकी जस्मिनलाई प्रहरीले बलपूर्वक उठाएको थियो । त्यसपछि उनीहरुले बसन्तपुरमा पुगेर अनसनलाई निरन्तरता दिए । उनीहरु अनसन बसेका बेला राज्यसँग जवाफ माग्नेहरुको मत बढ्दै गयो । महिला आयोग, मानवअधिकार आयोगहरु पनि उनको मागमा ऐक्यवद्धता जनाउन हाजिर भए ।
एकातिर अनसन जस्तो कडा कदम त्यसपछि सम्बन्धित निकायसँग वार्ता गर्नुपर्ने जिम्मेवारी बोकेको व्यक्ति भएकाले निहारिकाले आग्रह गरेपछि पाँचौ दिनमा जेठ ३१ गते जस्मिनले भने अनसन तोडेर वार्तामा लागिन् । निहारिका स्वास्थ्यको हिसाबले कमजोर बन्दै गर्दा उनको अडानलाई चट्टान बनाउने लर्को सडक, सदन र सामाजिक सञ्जालमा थियो । संसदमा समेत उनको पक्षमा अर्थपूर्ण तरिकाले कुरा उठेको थियो ।
यसरी निहारिकाको न्यायको पक्षमा माहौल तातिएपछि उच्च अदालतमा निस्क्रिय जस्तै बनेर पुनरावेदन मुद्दासक्रिय बन्यो । ‘झगडिया झिकाउने’ आदेश आयो । निहारिकाको अनसनको सातौं दिन असार २ गते राती ११ बजे भने गृहमन्त्रीसहितका सरोकारवाला निकायहरुको संलग्नतामा अनसन तोडियो । उनले राज्यका जिम्मेवार निकायबाट न्यायको पहल हुने आस्वासन पाएकी थिइन् । ‘
गृह मन्त्रालयले अभिभावकत्व लिने आसा बोकेर उनले त्यसदिन अनसन तोडेकी थिइन् । उनको पक्षमा नेत्रीदेखि अभिनेत्रीसम्म बनेर चर्चामा रहेकाहरुले आवाज उठाए । न्यायको नजिरले अरु निहारिकाहरुले यस्तो कठोर संघर्ष गर्नु नपरोस् भन्नेहरुको जमातमा अभिनेत्री करिस्मा मानन्धर पनि अगाडि बढेकी थिइन् । उनले निहारिकालाई छोरोसहित आफ्नो घरमा आउन आग्रह मात्र गरिनन् उनलाई छोरी बनाएर साथ दिने आश्वासन दिनपनि पछिपरिनन् ।
निहारिकाको अवस्था देखेर आफू विछिप्त भएको भन्दै अर्की छोरीको रुपमा ग्रहण गर्ने भनाई उनको थियो । अनसन सकिनासाथ करिस्मा गएर निहारिकालाई लुगाफाटो पोको पारेर ‘हिड’ समेत भन्दै थिइन् । तर, आफूले बास पाउनको लागि नभई न्यायको लागि लडाईं लडेकाले आश्रित भएर नबस्ने भन्दै अभिनेत्री करिस्मालाई फर्काइदिएकी थिइन् ।
जुनबेला सामाजिक सञ्जालमा न्यायका लागि अनसनरत निहारिकाप्रति सहानुभूतिका शब्दहरुको बाढी आयो । त्यसैबेला अरुभन्दा अगाडि देखिन खोजिन् अभिनेत्री करिस्मा मानन्धर । असार दुई गते उनले निहारिकाको न्यायको लागि आवाज मात्र उठाइनन् उनको अभिभावक बनेर आफ्नै घरमा बस्न आग्रह गरिन् । तर न्यायको लडाईमा रहेकी निहारिकाले करिस्माको प्रस्ताव अस्वीकार गर्दै न्यायिक लडाईंमा साथ दिन आग्रह गरिन् ।
करिस्माको आग्रहलाई सम्मान गर्दै उनी करिस्माको घरमा समेत पुगिन् । उनले त्यतिबेला आफूमाथि भएका आश्वासन, लोभ लालच र धम्कीसम्मको श्रृंखला करिस्मालाई सुनाइन् । आरोपित व्यक्तिसँगका तस्बिरमा भएका प्रमाणहरु देखाइन् । करिस्माले आफ्नो घरको छतमा खिचेका मात्र होइन, संगै स्विमिङ गरेका तस्बिरहरुसमेत सगर्व सार्वजनिक गरिन् । करिस्माले साँच्चिकै पीडित किशोरीलाई साथ दिन्छिन् भन्ने भेउ त्यस्ता गतिविधिले दिएको थियो ।
तर जब निहारिकाले दोश्रो अनसनको आठौं दिनमा राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गर्दा प्रहरीले घिसार्दै गरेको दर्दानक तस्बिर र भिडियोहरु सार्वजनिक भए, त्यो भन्दा पनि दर्दनाक सामग्री करिस्माको फेसबुकमा आयो । ‘यो केसको स्वरुप थाहा नपाइ सहयोग गर्न अगाडि सरेकोमा सबैसंग माफी चाहान्छु ।
अब उप्रन्त भोकोलाई खाना र नाङ्गोलाई लुगा बाहेक रुपैयाँको सहयोग गर्न म सक्दिँन । निहारिकाको सडकको बिजोग हेर्न नसकेर अगाडि बढे ! निहारिका ! आमा, बुवासँग माफी माग । बच्चालाई असर पर्छ, तिम्रो जीवनमा असर पर्छ । आफूलाई दुःख नदेऊ । कत्ति नावालिग जो साँच्चिकै पीडित छन् उनीहरूको मुद्दामा असर पर्छ । राज्य, न्यायपालिकाले यो केसको गहिरो छानबिन गरोस् । म भ्रममा परेको हुँ कि ? तर सधैँ सत्यको साथमा छु । यो सब हेरेपछि के गरूँ म ?’
उक्त भनाइसहित निहारिकामाथि बलात्कारको आरोप लागेका युवासहितका विभिन्न तस्बिरहरु उनले सार्वजनिक गर्न पुगिन् । करिस्माले निहारिकाको निम्ति खर्चिएका शब्दहरुले धेरै प्रश्नहरु उठाएका छन् । उनले निहारिकाले क्षमा हुन योग्य गल्ती गरेकी छैनन् भन्ने आशय बोलेकी छिन् । आफ्ना आमा बाबुसँग माफी माग्न निहारिकालाई करिस्माको आग्रह छ । निहारिकाको कदमले उनीसहित उनको बच्चालाई असर परेको साँच्चिकै पीडित नाबालिकाहरुलाई पीडा परेको मुद्दामा असर पर्ने भन्दै आफू भ्रममा परेंकि ? भन्ने प्रश्न समेत उनले गरेकी छिन् ।
करिस्माको भनाइअनुसार उनले लडिरहेको कठोर कानूनी लडाईं भ्रमित छ, अनि उनको माग नाजायज छ । करिस्माले विभिन्न अन्तरंग तस्बिरहरुसहित सार्वजनिक गरेको उक्त स्टाटसमा यो सामग्री तयार पार्दसम्म २ हजार ७ सय भन्दा बढी प्रतिक्रिया र १ हजार २ सयभन्दा बढी टिप्पणी गरिएका छन् । त्यसै गरी २५९ जनाले त्यसलाई शेयर गरेका छन् । करिस्माको भनाइमा टिप्पणी गर्नेहरु अधिकांशले उनलाई असहिष्णु भनेका छन् ।
आरोपितले निहारिकामाथि बलात्कार नै नगरेको भए पनि र सहमतिको सम्बन्धबाटै गर्भ रहेर बच्चा जन्मिएको भए पनि उक्त बच्चाले आफ्नो बाबु पाउनुपर्ने धेरैको जिज्ञाशा छ । आफूले सार्वजनिक गरेको सामग्रीले धेरैबाट गालीको वर्षा हुन थालेपछि करिस्माले गृह मन्त्रालयले विभिन्न सम्बन्धित निकायलाई लेखेको पत्रमा निहारिका र आरोपित व्यक्तिहरुकाबीच ४–५ वर्षदेखि प्रेम सम्बन्ध रहेको व्यहोरा उल्लेख गरेर लेखेका पत्रहरु सार्वजनिक गरेकी छिन् ।
उता “जयनारी” भन्दै नारा लगाउने सावित्री सुबेदीले निहारिकालाई साथ दिने भन्दै जनकपुरमै पुगेर आश्वासन दिएकी थिइन् । निहारिका काठमाडौं आएर अनसनको सहारा लिन थालेपछि उनको सहयोगको लागि भन्दै विभिन्न व्यक्तिहरुबाट रकम उठाएको आरोपसमेत उनीमाथि लागेको थियो ।
दोश्रो अनसनसँगै आत्मदाह गरेर जीवन अन्त्यको बाटोमा पुगेकी निहारिकालाई उनै सुबेदीले फोन गरेर आरोपित व्यक्तिको परिवारबाट प्राप्त अरु तस्बिरहरुसमेत सार्वजनिक गरिदिने धम्की दिएको समाचारहरु पनि सार्वजनिक भएका छन् । सुबेदीसहितका पहिले आफूलाई साथ दिने वचन दिएकाहरु आरोपितको परिवारसँग मिलेको वा रकमको बार्गेनिङ गरेको आशंका समेत निहारिकाले गरेकी छिन् ।
गोपनियता सार्वजनिक गरिनु समाज विरुद्धको अपराध : अधिवक्ता शर्मा
अनसनरत निहारिकामाथि बलात्कारको आरोप लागेका व्यक्तिसँगका लगायत सार्वजनिक तस्बिरहरुले समाज विरुद्धको अपराधसम्बन्धी कानून आकर्षित हुने बताउँछन् अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल । कानूनले व्यक्तिको गोपनियताको अधिकार सुरक्षित गरेको तर्फ ध्यानाकर्षण गराउँदै उनले सामाजिक हिसाब किताबले यो शोभनीय नभएको बताउँछन् ।
कुनै पनि व्यक्तिको व्यक्तिगत तस्बिरहरु उसको अनुमति बिना सार्वजनिक गरिनु कसूरजन्य अपराध हुने अधिवक्ता शर्माले उल्लेख गरे । त्यसो त निहारिकाको कदमले पनि गलत सन्देश प्रवाह गर्ने उनको तर्क छ । न्याय पाइँन भनेर आत्महत्याकै बाटो रोज्नुले समाजमा गलत नजिर स्थापित हुने उनको भनाइ छ ।
देशको कानूनले न्यायपूर्ण समाजको परिकल्पना गरेकाले अन्यायमा पर्दा कानूनी उपचारबाट समस्याको समाधान खोज्नु बुद्धिमत्ता हुने उनले सुझाए । पछिल्लो समय हरेक प्रकरणमा सामाजिक सञ्जाल हावी हुने गरेका छन् । सामाजिक सञ्जालमा चर्चित व्यक्ति मात्र भएपनि उसले गरेका सटिक टिप्पणीहरु एकैछिनमा भाइरल हुन्छन् ।
अनि कहिलेकाही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले त्यसको दुरुपयोग गरेर फैलाउँछन् । देशको नियम, कानून, विधि, विधान र प्रकरणको भित्री कुरा गौण बनाएर अभिव्यक्त हुने त्यस्ता सामग्रीले उत्पन्न दबाबले पीडितलाई झन् पीडित र पीडकलाई उन्मुक्तिको बाटोतिर उन्मुख गराउँछ ।
निहारिका प्रकरणलाई पनि अहिले त्यसरी नै सामाजिक सञ्जालको दुरुपयोग गरेर मोड्ने प्रयास भइरहेको देखिन्छ । समाजका अगाडि बिवाह गरेर ल्याएकी श्रीमतीलाई समेत उनको इच्छा विपरीत करणी गरेमा बैवाहिक बलात्कार मान्ने व्यवस्था कानूनले गरेको छ ।
बिवाह अगाडिको शारीरिक सम्बन्धलाई नेपाली समाजले बर्जित नै गरेको छ । यस्तो अवस्थामा निहारिकाले चालेको त्यस्तो कठोर कदमलाई समाजले कसरी भनिरहेको छ ‘मन मिले चमत्कार र मन नकिले बलात्कार ?’ देश, समाज र कानूनले यतिबेला उनीमाथि बलात्कार भएको हो कि होइन भन्दा पनि उनीबाट जन्मिएको बच्चाको बाबु खोज्नु जरुरी छ ।
निहारिकाले प्रमुख रुपमा बच्चाको बाबुको खोजी गरिदिन त आग्रह गरेकी छिन् । अझ उनको प्रमुख माग आरोपितलाई पक्राउ गरेर डिएनए परीक्षण गराउनु हो । यदि डिएनए परीक्षणबाट आरोपित बच्चाको बाबु नभएको प्रमाणित भए उनले पनि त नाजायज माग अघि बढाउदिनन् होला । त्यतातिर सम्बन्धित निकाय सम्वेदनशील हुन जरुरी छ ।
निहारिकाको सारथी जस्मिन
निहारिकाले पहिलो पटक जेठ २७ गते अनसन बस्दा उनीसँगै बसेर साथ दिएकी अधिकारकर्मी जस्मिन ओझा दोश्रो पटकको अनसनमा पनिसँगै छिन् । निहारिकाले न्याय नपाएसम्म लडिरहने अठोट उनले व्यक्त गरेकी छिन् । हाल टिचिङ अस्पतालमा रहेकी निहारिकाको शारीरिक स्याहारसुसारमा समेत सघाउँदै छिन् जस्मिन ।
निहारिकालाई न्याय दिलाउने अडानमा उनले लेखेकी छिन्– ‘निहारिकाको न्यायको बाटोमा मसंगै थिए, सँगै छु र सँगै हुने छु । उनको मुद्दालाई ग्राउन्डबाटै कमजोर बनाएर लगिएको तथ्यबारे पनि अवगत छु । उनलाइे केही कथित व्यक्तिहरूले प्रयोग गरेकोबारे पनि म जानकार छु । उनी यो अवस्थासम्म आइपुग्न वाध्य बनाउने राज्य सम्यन्त्र त हो नै, सँगै साथ दिन्छु भन्नेहरू पनि हुन् । जसले उनको अवोधपनको फाइदा उठाएर मिस्युज गरे ।
मैले नै उनको मुद्दालाइमीडियामा पु¥याएकी थिएँ, ऊ माइतिघरमा अनसन बस्दा होस् या वसन्तपुरमा, म उसंगै थिएँ । तर, साथ दिएजस्तो गरेर केही कथित अभियन्ता भनौदाले आरोपितको घरमा पुगेरै रकमको डिल गरेको सूचना उनैले दिएकि थिइन् । तर, निहारिकाको यो अन्तिम लडार्इँ नसकिएसम्म म–हामी लडिरहने छौ ।’
प्रतिक्रिया