मंसिर १७, २०७९ शनिबार । December 3, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फोहोरमा राजनीति नगर्न आग्रह गरेका छन् । धुनिबेशी नगरपालिकाका तिन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको नगर समितिले फोहोर व्यवस्थापनमा अवरोध गर्ने निर्णय गरेपछि बालेन यस्तो आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत बालेनले बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेको र यसमा अहिलेसम्म संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको बताउदै यो झुक्याएर नगरिएको स्पष्ट गरेका छन् । ति सम्झौताहरु वैधानिक रहेको भन्दै यिनको पालना गर्नु सबैको कर्तव्य भएको बालेनले उल्लेख गरेका छन् ।

बालेनले एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? भन्दै प्रश्न समेत गरेका छन् । उनले भनेका छन्( ‘हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ ।’

बालेनले के भने ?

हामीले हिजो जानकारी गराएका थियौँ कि केहि अबरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरुले बञ्चरे डाँडामा फोहोर लैजाने छन् । तर आज दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध गरियो । यसैले आज ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरे डाँडा पुग्न पाए ।

आज दुई ठाउँमा सडक अवरुद्ध गर्नुका दुई कारणहरु थिए । १. कसैले फोहोर पानीको मुहानमा लगेर फ्यालिदियो भन्ने । यसमा दोषीलाई पत्ता लगाएर कारबाही पनि भइसक्यो । २. फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्ने । यसलाई पनि समाधान गर्यौँ । यी दुई अवरोध हटाउने बित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौँ ।

वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापुर्ण हुनेछ । बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भुमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ । यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरु छन् । ति सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो ।
सँगसँगै, हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com