आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित जनलहर सिर्जना गर्ने १५ दिने संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने भएको छ । शनिबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भदौ १० गतेदेखि २४ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने निणर्य गरेको सहमहामन्त्री जीवन परियारले बताए ।

उनले भदौं १० देखि २४ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । बैठकले अभियानका लागि केन्द्रीय समितिबाट प्रतिनिधि तोक्ने समेत निर्णय गरेको छ ।

शनिबारको बैठकले आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ऐनबमोजिम दर्ता गर्ने निर्णय गरेको छ । बैठकले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई आयोगमा दल दर्ता गर्ने अख्तियारी दिएको हो ।

‘कानुनमै पार्टीको केन्द्रीय कार्यकारी समितिको निणर्य संलग्न हुनुपर्ने व्यवस्था छ । त्यहीकारण यो बैठकबाटै दल दर्ता गर्ने निर्णय गरिएको हो,’ नेता अर्जुननरसिंह केसीले भने, ‘आजको बैठकमा खाली पार्टीभित्रको आन्तरिक व्यवस्थापनको कुरा मात्रै भयो, अरु राजनीतिक विषयमा कुनै छलफल भएन ।’ उनका अनुसार बैठकले साउन ३० र ३१ गते काठमाडौंमा गर्ने तयारी भएको स्थानीय तहका जनप्रतिनिधिहरुको राष्ट्रिय भेलाको तयारीका विषयमा समेत छलफल भएको छ ।

‘हामीले देशभर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौंमा स्वागत गर्ने र बधाईसहित अभिमुखीकरण गर्ने कार्यक्रम राखेका छौँ,’ उनले भने, ‘पार्टीको सचिवालयले त्यसको तयारी गरेको छ । बैठकले त्यही तयारीलाई स्वीकृत गरेको छ ।’

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com