चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कार्यतालिका स्वीकृत भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार आउँदो असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुने भएको छ ।

उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ शुरु गरिने छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्ने छ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न झण्डै एक महिना लाग्ने जनाएको छ ।
यस्तै असोज ११ गते निर्वाचन अधिकृत नियुक्त, २१ गते कार्यालय स्थापना गर्ने कार्यतालिका छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

असोज २८ गतेदेखि मंसिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । तालिका अनुसार कात्तिक १६ गते मतदान सामग्री ढुवानी र २७ गते मतपत्र ढुवानी गरिने निर्वाचन आयेगले जनाएको छ ।

मंसिर ४ गतेको चुनावका लागि १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ भने त्यही दिनदेखि नै समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सुरु गर्ने आयोगको तयारी छ । आयोगले अहिले तय गरेका तालिकामा केही संशोधन हुनसक्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचन कार्यक्रम स्वीकृत हुने क्रममा छ । दर्ता भएका दलले असोज २ र ३ गते उम्मेदवारको बन्दसूची बुझाउने छन् ।

आगामी चुनावबाट प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभातर्फ ३३० जनप्रतिनिधि निर्वाचित हुनेछन् । समानुपातिकतर्फ ११० जना प्रतिनिधि सभा सदस्य तथा २२० जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् । चुनावका लागि अहिलेसम्म ९ वटा पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । गएको आइतबारदेखि दल दर्ता सुरु भएको छ । आउँदो ३१ गतेसम्म राजनीतिक दलले दल दर्ता गर्न पाउने छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com