चैत्र १२, २०८० सोमबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक बस्दैछ । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा गठबन्धनको आधार र मापदण्डको विषयमा छलफल हुने कार्यदल सदस्यले बताएका छन्  । पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँडबारे छलफल गर्ने तयारी छ ।

अनौपचारिक छलफल गरे पनि औपचारिक रूपमा सिट संख्या दाबी गर्ने गरी दलहरूले ठोस छलफल गरिसकेका छैनन् । आधार र माददण्ड तयार भएपछि सिट बाँडफाँडबारे दलहरूको तर्फबाट दाबी पेस हुनेछ । ‘पहिलो बैठकमा सिट बाँडफाँड के–कसरी गर्ने भन्नेबारे छलफल प्रारम्भ हुनेछ । निश्चित मापदण्ड बनाएर जान्छौँ,’ कार्यदल सदस्य हिमलाल पुरीले भने ।

कार्यदलको सुझावका आधारमा गठबन्धनमा भदौ पहिलो साताभित्र सिट बाँडफाँडको विषय टुंगो लगाउने तयारी छ । गत शुक्रबार गठबन्धनको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट जनार्दन शर्मा र वर्षमान पुन, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com