जेष्ठ २३, २०८० मंगलबार । June 7, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । निजामती कर्मचारी संगठनका नेता भोला पोखरेल एमाले प्रवेश गरेका छन् । पार्टी विभाजनपछि एकीकृत समाजवादीतिर लागेका उनी हिजो राजधानीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमवीच एक दर्जन कर्मचारी नेता लिएर एमाले छिरेका हुन् ।

पार्टी अध्यक्ष,महासविच र उपमहासचिवलगायतको उपस्थिति रहेको कार्यक्रममा बोल्दै पोखरेलले बाको हातबाट टीका लगाएका थिए । ‘तपाईंलाई व्यक्तिगत रुपमा सन्तान वा कोही कसैलाई केही गर्नु छैन । ज्वाईंलाई राजदूत बनाउनु पनि छैन, भाइलाई नियुक्ति वा जिम्मेवारी दिन ऐन संशोधनको आवश्यकता छैन । छोराछोरीको भविश्य उज्वल बनाउनु पनि छैन,’ एमाले प्रवेश गर्दै पोखरेलले ओलीलाई सुनाए ।

उनले पाँच दिनअगावै एमाले प्रवेश गर्नुको कारण पनि खुलाएका छन् । ‘साउन २६ गते आउनु भन्ने कुरो थियो, महासचिव शंकर पोखरेलले त्यतिन्जेल पर्खन भन्नुभयो तर आउने नै भएपछि किन २६ गतेको भाखा पुर्याउनु ? म त पाँच दिन भए पनि पहिले नै आइदिएँ,’ पोखरेलले भने ।

उनले पार्टी परिवर्तन गरेको सन्दर्भ जोड्दै मारे पाप,पाले पुण्य समेत भनेका छन् । ‘हाम्रो गाउँघरतिर हिन्दू परम्परागत बिबाहमा त्यसो भन्ने चलन छ । बेहुली अन्माउन लाग्दा दुलाहालाई बेहुलीका अभिभावकले यसो भन्छन् । म पनि अहिले त्यही हो । कम्युनिष्ट पार्टी बनाउन गएको थिएँ तर काँग्रेस पार्टीको सदस्य बन्न मन लागेन ।’

पोखरेलले बोलेपछि अध्यक्ष ओलीको पालो आयो । उहाँले विदेश गएर लामो समयसम्म नफर्केको छोरो घर सम्झेर आएको सन्दर्भको रुपमा भोलालाई स्वागत गरेको बताउनुभयो । ‘ल ठीक छ,विदेश गएको छोरो कति वर्ष नफर्केको पनि हुन सक्छ । तर पनि घर आएपछि बाले आइछस् भन्छन् । अहिले पनि त्यस्तै हो । पाँच दिनपछि आए पनि हुन्थ्यो तर महासचिवले किन त्यसो भन्नुभयो थाहा छैन । आउन मन नलाग्नेहरु जति दिन कुरे पनि आउँदैनन्,’ ओलीको भनाइ थियो ।

उहाँले एकीकृत समाजवादीमा रहेका अरु कार्यकर्ताको मनोविज्ञानबारे पनि लामै भाषण गर्नुभयो । एमालेमा जान लाग्यो भनेर थाहा पाए भने उनीहरुले विश्वास नगर्ने अवस्था आउँछ त्यसैले बेलैमा आउँदा राम्रो । तर जति ढिलाइ गरे पनि यहाँ नआई चाहिँ सुखै छैन,’ उहाँले भन्नुभयो ।

त्यसअघि पार्टी प्रवेशको निम्ति अस्ति राति १ बजे आफूले अध्यक्ष ओलीसँग एक घण्टा ३० मीनेट कुरा गरेको जानकारी पोखरेलले निकटस्थहरुलाई गराएका थिए । हिजो पार्टी प्रवेश गर्ने क्रममा भनेका छन्, ‘कम्युनिष्ट पार्टीमा बस्ने हो,यसैमा काम गर्ने हो ।’

पोखरेलसँगै दुग्ध विकास संस्थान डिडीसी का गम्भीर तण्डुकार,नार्क कृषि अनुसन्धान केन्द्रका सहसचिव नवीनप्रकाश पौडेल लगायत एक दर्जन एमालेमा प्रवेश गरेको जानकारी दिइएको छ । हिजो एमाले छिर्नेमा एस पार्टीका प्रदेश सदस्यहरु सविना केसी,प्रकाश शर्मा छन् । त्यसैगरी एकीकृत समाजवादी कर्मचारी संगठनका उपाध्यक्ष राजकुमार दास,पेशागत महासंघ जिल्ला समिति सदस्य भक्तपुरका अमर पौडेल, मोहन गिरी,शिवहरि ढकाल पनि एमालेमै फर्केका छन् । इलाका सचिव सुदिप दाहाल, पार्टी जिल्ला सचिवालय सदस्य सन्तोष सिंह, प्रदेश आयोग अध्यक्ष सन्तोष शर्मा र जिल्ला कमिटी सदस्य पूर्ण सेढाईंले एकीकृत समाजवादी छाडेका छन् ।

तीबाहेक अरु पनि एमालेमा आउन लागेको तर एकीकृत समाजवादीले पार्टी कार्यालयमा थुनेर राखेकाले रोकिएको पोखरेले भाषणमा बताए । उनका अनुसार प्रमोद शर्मा,दीपक सुवेदी पनि आउने क्रममा छन् । भोलाका अनुसार,कर्मचारी संगठनमा आधिकारिक ट्रेड युनियनको नेतृत्वलाई फिर्ता बोलाउने निर्णयपछि विवाद उत्पन्न भएको हो । २०७७ कात्तिकमा जिल्ला कमिटीको बैठक प्रेमप्रसाद पराजुलीले नबोलाउँदा केही मानिस माधव नेपालतिर गएको पोखरेलले बताए ।

यसबीच निजामती ट्रेड युनियनका कर्मचारीहरुमध्ये रेवन्त गौतमलगायत केही कर्मचारी माधव नेपालमा गएर नेता बनेको र मूल घर फर्केको उनैले बताए । सार्वजनिक संस्थान कर्मचारी संघको हालै सम्पन्न अधिवेशनबाट इन्दु आचार्यलाई अध्यक्ष बनाइएको छ । विद्युत प्राधिकरणका रामप्रसाद रिमालहरु समेत फिर्ता आउने सम्भावना रहेको हिजो एमाले प्रवेश गर्दागर्दै भोलाले बताए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com