जेष्ठ ८, २०८० सोमबार । May 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । २०७४ साल बैशाख १ गतेदेखि घोषणा भएर कार्यान्वयन हुन नसकेको सवारीमा ‘नो हर्न’ अभियान अब भने प्रभावकारी बनाइने भएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट अभियान सञ्चालन गरेर ‘नो हर्न’ लाई प्रभावकारी बनाउन लागेको हो ।

काठमाडौंमा आज एक कार्यक्रम आयोजना गरेर उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जानकारी दिइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेन्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन गरेको हो । ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नो हर्न अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताए ।

उनले नो हर्न अभियान पहिलैबाटै सञ्चालन गरिएपनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताए । मेयर साहले सवारीसाधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाइन लागेको बताए। उनले सवारी चालकहरूले पनि धैर्यता राखेर हर्न नबजाइ यात्रा गर्न र नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन्। उनले जनचेतनामूलक कार्यक्रमले समाजमा फरक कथा बनाउने बताइन्।

काठमाडौं महानगरपालिकाले ०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com