आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका( ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध बुधबार फुटेपछि चार हजार घरपरिवार उच्च जोखिममा परेका छन्।

बिहानैसप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका वडा नम्बर २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका(६ डुबानमा परेको स्थानीयले बताए। बाँध फुटेर गाउँ पस्दा क्षति भए पनि यकिन तथ्यांक आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

बेलका नगरपालिकाले बस्ती छाड्न सोमबारै माइकिङ गरेकाले मानवीय क्षति नहुने यादवले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरिसकेको उनको भनाइ छ । कोसीको पूरै भंगालो नपसे पनि बाढी ओभरफलो भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोसी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको बताइएको छ।

नदी कटानले बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चारवटा वडाका दर्जन बढी गाउँका बासिन्दा उच्च जोखिममा रहेको स्थानीयबासीको भनाइ छ ।

सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्ने गरेकोले बर्खामा नदीले वर्षेनी जनधनको क्षति गर्दै आएको छ।
उदयपुरको बेलका नगरपालिका( ८ को लाहुरे खोचमा सप्तकोसी फुटेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्षका चार हजार घर परिवार उच्च जोखिममा परेका छन् ।

सप्तकोसीले नयाँ मार्ग बनाए त्यहाँ बसोबास गर्ने चार हजार घर परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुन सक्ने स्थानीयको भनाइ छ। सप्तकोसी कटानले गर्दा बराह क्षेत्र नगरपालिका(६ चिलिया टप्पुमा रहेको बालसेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशिका आधारभूत विद्यालय बेलका नगरपालिका(३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित दुईवटा स्वास्थ्य संस्था विस्थापित भइसकेका छन् ।

कञ्चनरूप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ताले अविरल वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेकाले सप्तरीको कञ्चनरूप नगरपालिकाका वडा नम्बर १,२,४,५,६ र र १० उच्च जोखिममा रहेको बताए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com