मंसिर १७, २०७९ शनिबार । December 3, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । प्रतिनिधिसभाको आजको वैठकमा सांसदहरुले देशका विभिन्न क्षेत्रमा भएको पहिरापीडित परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा पहिरामा परी बेपत्ता भएका परिवारको खोजी गर्न सरकारको ध्यानाकर्षण गराए । उनले पहिरोपीडितलाई तत्काल राहत र पुनःस्थापना गर्नुपर्ने मागसमेत गरे । म्याग्दी जिल्लामा दलित समुदायको बस्ती अत्यन्त जोखिममा रहेको बताउँदै उनले ती बस्तीलाई अन्यत्र स्थानान्तर गर्नसमेत माग गरे ।

सांसद रामबहादुर विष्टले अछाम जिल्लाका विभिन्न स्थानमा अविरल वर्षाका कारण पहिरो आउँदा मानवीय र भौतिक क्षति भएको बताउँदै पहिरापीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने माग गरे । महेन्द्रकुमारी लिम्बूले प्रदेश १ को खोटाङ जिल्लालाई केन्द्रविन्दु बनाएर यही साउन १५ गते गएको भूकम्पका कारण भौतिक क्षति भएको बताउँदै उचित राहत र क्षतिपूर्तिको माग गरे । सांसद महेश बस्नेतले मुलुकमा महँगी, भ्रष्टाचार, हत्या, हिंसाका घटना बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद मीनबहादुर विश्वकर्माले बिजुलीबजारस्थित नेपाल चक्रवर्ती हवी कलेजमा शुल्क वृद्धिको विरोधमा गरिएको धर्नाका क्रममा नेपाल विद्यार्थी सङ्घका नेताहरुमाथि प्रहरीले आक्रमण गरी घाइते बनाएको भन्दै आपत्ति जनाए ।

सांसदद्वय रङ्गमती शाही र मीना सुब्बाले सरकारी र निजी विद्यालयमा अध्ययनरत विद्यार्थीबीच विभेद गर्न नहुने भन्दै शिक्षामा सबै विद्यार्थीको समान पहुँचको माग गरे । सांसद मोहन बाँनियाले कर्णाली करिडोरलाई द्रूत गतिमा अगाडि बढाउन आग्रह गरे । सांसद मोहनप्रसाद पाण्डेले पाल्पाका विभिन्न स्थानमा सडक निर्माण कार्यलाई जतिसक्दो चाँडो अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद यशोधा गुरुङ सुवेदीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका निम्ति सरकारको ध्यानाकर्षण गराइन् । सांसद रामवीर मानन्धरले संसद्मा शून्य समयमा सांसदहरुले बोलेका विषय कार्यान्वयन हुनुपर्छ भने । सांसद रेणुका गुरुङले आफूमाथि असुरक्षा बढ्दै गएको भन्दै सरकारसँग सुरक्षाको माग गरिन् ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com