काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अघि बढाउन नेपाल बार एशोसिएसनले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।
सोमबार बारका पदाधिकारीको टोलीले संसदमा विचाराधीन रहेको प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन माग गरेका हुन् । सभामुख सापकोटालाई भेट्न उनीहरु सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए ।
जबराविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले फागुन १ गते संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रतिनिधिसभाले त्यसपछि महाअभियोग सिफारिस समिति बनाए पनि समितिमा महाअभियोग प्रस्ताव अघि बढाएको छैन ।
बारकी महासचिव अञ्जिता खनालले अहिलेकै अधिवेशनमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अघि बढाउन माग गरेको जानकारी दिइन् । ‘हामीले यही अधिवेशनबाट अघि बढाउन भन्यौं, तर सभामुखले अहिले बजेट अधिवेशन भएकाले अर्को अधिवेशनको पहिलो विषय नै यसलाई बनाउछौं भन्नुभएको छ’ उनले भनिन् ।
प्रतिक्रिया