मंसिर २२, २०८० शुक्रबार । December 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनमा नलगे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । पक्राउ पूर्जी जारी भएपछि चिढिएको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरूलाई दिन चाहन्छौँ ।’

त्यसबाट सिर्जित अवस्थाहरूको जिम्मेवारी सरकार हुनुपर्ने चेतावनी नेकपाको छ, ‘यसबाट भावी दिनमा निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ ।’

विज्ञप्तिमा पक्राउ पूर्जी जारी हुनु पछिल्लो समय पार्टीले उठाउँदै आएको मुद्दाहरूमाथि अङ्कुश लगाइनु भनेर अर्थ्याइएको छ । ‘देश र जनताका विद्यमान यावत् समस्याविरुद्ध संघर्ष गरिरहेको हाम्रो पार्टी र नेतृत्वविरुद्ध गरिएको आजको षड्यन्त्रले अन्तत्वोगत्वास् अमेरिकी साम्राज्यवादी हस्तक्षेप, दलाल पुँजीपति तथा सामाजिक दलाल पुँजीपतिको आत्मसमर्पण र जनविरोधी चरित्रलाई नै मलजल पुर्‍याएको छ । यसको प्रतिवाद गर्न र जनप्रतिरोधमा उत्रिन देशको बौद्धिक जगत्, मानवअधिकार एवम् कानूनी क्षेत्र, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, वामपन्थी, क्रान्तिकारी शक्ति, पत्रकार जगत् र आम नेपाली जनतामा हाम्रो पार्टी विशेष अपिल गर्दछ,’ त्यहाँ भनिएको छ ।

नेकपा महासचिव विप्लवसँगै प्रवक्ता प्रकाण्डसँगै केही नेताहरूमाथि पक्राउपूर्जी जारी गरिएको छ । ललितपुर जिल्ला अदालतकाअनुसार हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराइ कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुरको मुद्दा लागेको भन्दै उनीहरुलाई पक्राउ पूर्जी जारी गरिएको हो ।

नेकपा र तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारबीच ३ बुँदे सहमति भएको थियो । नेकपाले सो सहमति चाँडै कार्यान्वयन गर्न माग गरेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com