चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टिन र होल्डिङ सेन्टर निर्माण गरिने भएका छन् । कोरोना भाइरस सङ्क्रमण फेरि फैलन सक्ने भन्दै त्यसबाट बच्नका लागि पूर्वतयारीस्वरुप सबै पालिकामा होल्डिङ सेन्टर र क्वारेन्टिन निर्माण गरिने भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको चौथो लहरको जोखिम बढेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

प्रत्येक स्थानीय तहमा होल्डिङ सेन्टर निर्माणको काम अघि बढाउने र दशरथचन्द नगरपालिका क्षेत्रभित्र जिल्लास्तरीय होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय पनि भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लास्तरीय होल्डिङ सेन्टर निर्माणका लागि ठाउँ पहिचान गरी निर्माणको जिम्मा दशरथचन्द नगरपालिकाले लिने निर्णय भएको छ ।

कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, स्थानीय तहमा क्वारेन्टिन र आइसोलेशन तयारी अवस्थामा राख्ने निर्णयसमेत भएको छ ।

यस्तै भारतबाट झुलाघाट नाका भई स्वदेश फर्कने नागरिकको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएमा ती नागरिकलाई सम्बन्धित स्थानीय तहमा पु¥याउन सामूहिक कोष स्थापना गर्ने निर्णय भएको छ । सो कोषमा प्रत्येक स्थानीय तहबाट तत्काल रु ५० हजारका दरले रकम जमा गर्ने र त्यसको सम्पूर्ण व्यवस्थापन स्वास्थ्य कार्यालयले गर्ने निर्णय भएको छ ।

जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेस गर्ने र राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुुसार स्तरोन्नति गरेर सञ्चालन गर्ने निर्णय भएको छ ।यस्तै दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकाले सङ्कलन गरेको विपद् प्रभावितको तथ्याङ्कलाई स्वीकृत गर्दै पुनःनिर्माण र पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गर्ने निर्णय भएको छ ।

यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ । त्यसका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर अघि बढ्ने समेत निर्णय भएको छ ।

बैठकले दशरथचन्द–५ का देवराम लुहारको परिवारलाई तत्काल राहतस्वरुप रु १५ हजार दिने निर्णय गरेको छ । अविरल वर्षाका कारण देवरामको घर यही साउन ११ गते पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । रासस

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com