चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

नयाँदिल्ली । आफ्नी आमालाई जिउँदै जलाइएको ६ वर्षपछि एक किशोरीले न्याय माग गर्दै आफ्नै रगतले पत्र लेखेपछि अन्ततः अपराधीलाई कारागार पुर्‍याइएको छ । अहिले २१ वर्ष पुगेकी हत्याको प्रत्यक्षदर्शी लतिका वंशल र उनकी बहिनीको बयानअनुसार उनीहरूको आफ्नै पिता मनोज वंशललाई आजीवन कारावास सजाय दिइएको हो । ती दुवै छोरीले आफ्नो पिताले आमालाई छोरो नजन्माएको निहुँमा सधैँजसो पिट्ने गरेको बयान दिएका छन् ।

तर, मनोजले आफूमाथि लगाइएको अभियोगहरू अस्वीकार गर्दै आफ्नी पत्नीले आत्महत्या गरेको बताएका छन् । उत्तरी भारतीय राज्य उत्तर प्रदेशको वुलन्दसार शहरस्थित अदालतले मनोजलाई छोरो नजन्माएको भन्दै पत्नीको हत्या गरेको अभियोगमा दोषी करार गरेको हो ।

छोरोले परिवारको बिँडो थाम्ने र बुढेसकालमा आमा बुबा पाल्ने तर छोरीहरू दाइजो लिएर आफ्नो पतिका घरमा जाने जस्ता अझैसम्म व्याप्त सामाजिक विचारधाराको कारण भारतमा छोरालाई बढी प्राथमिकता दिने गरिएको पाइन्छ । जसको कारण भारतमा कोखमा छोरी रहेको थाहा पाएपछि वर्षेनी दशौँ लाखको संख्यामा गर्भपतनमार्फत भ्रुण हत्या हुने गरेको छ ।

मनोजले पनि आफ्नी पत्नी अनु वंशललाई पेटमा छोरी रहेको थाहा पाएपछि ६ पटकसम्म जबरजघस्ती गर्भपतन गराएको बुझिएको छ । डसन् २०१६ को १४ जुनको बिहान मनोजले परिवारका अन्य सदस्यको सहयोगमा अनुको शरीरमा मट्टितेल खन्याएर आगो लगाएको बताइएको छ ।

शरीरको ८० प्रतिशत भाग जलेका अनुको उपचार गर्ने क्रममा केही दिनपछि अस्पतालमै मृत्यु भएको थियो । १५ र ११ वर्षको उमेरमा अनुका ती दुई छोरीले तत्कालीन मुख्यमन्त्री अखिलेश यादवलाई आफ्नै रगतबाट स्थानीय प्रहरीले हत्यालाई आत्महत्याको रूप दिएको भन्दै पत्र लेखेपछि यो मुद्दा चर्चामा आएको थियो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com