मंसिर १२, २०८० मंगलबार । November 28, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल हुनुमा नेपाल सांस्कृतिक संघको भूमिका उल्लेख्य रहेको बताउनुभएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसको शुभेच्छुक संस्था समेत रहेको सांस्कृतिक संघद्वारा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा उहाँले संघको अन्य भातृ संगठन र सुभेच्छुक संस्थाको भन्दा कम भूमिका नरहेको जिकिर गर्नुभयो ।

संघले स्थानीय तह निवार्चन सफल बनाउन र नेपाली कांग्रेसलाई ठूलो दल बनाउन भुमिका निर्वाह गरेको भन्दै आफ्ना ३ं० जना पदाधिकारी तथा सदस्यलाई सम्मान गरेको छ । संघले पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उनीहरुलाई सम्मान पत्र प्रदान गरेको हो । प्रधानमन्त्री देउवाले आगामी संघ र प्रदेश निर्वाचनमा पनि संघको सक्रिय भूमिकाको अपेक्षा गरेको बताउँदै संघका जायज माग सम्बोधन गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै संघका सभापति तीर्थबहादुर थापाले आगामी दिनमा नेपाल सांस्कृतिक संघलाई भ्रातृ संस्थाका रूपमा मान्यता प्रदान गरी विधानमा समावेश गर्नुपर्ने बताउनुभयो । थापाले पार्टी संगठनको सम्पूर्ण तह र निकायमा नेपाल सांस्कृतिक संघको अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने समेत बताउनुभयो ।
सम्मान कार्यक्रम पश्चात संघका महामन्त्री राजेन्द्र केसीले कलाकार, भाषा साहित्य, संगीतकर्मी लगायत सांस्कृतिक संरचना पार्टीलाई जीवन्त राख्न अपरिहार्य रहेको कुरा पार्टी नेतृत्वले बुझेकोमा खुशी व्यक्त गर्नुभयो ।

संघका प्रवक्ता महेश प्रसाईंले विभिन्न गीत, संगित, मूर्तीकला, चित्रकला लगायतको माध्यमबाट योगदान पुर्याएको तर्क गर्नुभयो । यता, कार्यक्रम संयोजनमा संघका केन्द्रीय सह–कोषाध्यक्ष वेदमणी अधिकारीले विशेष भूमिका निवार्ह गर्नुभएको थियो भने सम्मान कार्यक्रमलाई हास्य कलाकार शिव शंकर रिजालले कुशलताका साथ सञ्चालन गर्नुभयो ।

सम्मानित हुनेमा काठमाडौं क्षेत्र नं १० का महाधिवेशन प्रतिनिधि एवं संघका महामन्त्री समेत रहनुभएका दक्षिणकाली नगरपािलकाका राजेन्द्र खत्री सहित प्रवक्ता महेश प्रसाईं, कुमार बस्नेत, प्रभातमणी ओझा, शिवहरी नेपाल, शर्मिला बोहरा, सुरत राउत, प्रदिपलाल श्रेष्ठ, पूर्ण आचार्य, जीवनाथ चौधरी, दिपक कार्की, डिल्ली नारायण पाण्डेय, सुजाता केसी, सुनिल पाण्डे, चोलेन्द्र प्रसाद पौडेल, चेत वहादुर सिंह, गोविन्द शाही, शशि विक्रम थापा, धनबहादुर याख्खा, कविता गेलाल, अर्जुन गिरी, लेखबहादुर पुन, कृष्ण बहादुर पुन, अलिप खान, विपिन किरण, उदिराम खड्का विमलराज क्षेत्री, रमेश कोइराला र सिता तामांग केसी रहेका छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com