चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । धनलक्ष्मी मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता आउँदो सोमबारदेखि सुरु हुने भएको छ । धनलक्ष्मी महर्जन फाउन्डेसनले शुक्रबार पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको प्रतियोगिता १६ साउनदेखि २१ साउनसम्म आयोजना हुने जानकारी गराएको छ ।

६ दिने प्रतियोगितामा पुरुष र महिला खुल्ला, मास्टर्स खुल्ला पुरुष ५० वर्षभन्दा माथि उमेर समूह र जुनियर छात्र खुला तथा प्लेट गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । नेपाल स्क्वास र्‍याकेट्स संघका अध्यक्ष किशोर महर्जनद्धारा प्रायोजित प्रतियोगितामा एक सयभन्दा बढी खेलाडी सहभागी हुनेछन् ।

‘अघिल्ला संस्करणमा समेत सय माथि खेलाडी सहभागी भएका थिए । यस संस्करण १६० माथि पुग्ने अनुमान गरेका छौं’, अध्यक्ष महर्जनले भने ।

यस्तै उनले स्क्वास खेल अन्य खेलको तुलनामा चर्चा कम हुने हुँदा यस्ता प्रतियोगिताले खेलको चर्चा सहित खेलाडीलाई प्रोत्साहन हुने बताए ।

‘फुटबल, क्रिकेटसहित अन्य खेलको तुलनामा स्क्वासले चर्चा त्यति पाएको देख्दिन । मिडियामा पनि कम स्थान पाउने गर्छ । यस्ता प्रतियोगिता हुँदा खेलाडीले अनुभव पाउँछन् र प्रोत्साहन समेत हुनेछ’, अध्यक्ष महर्जनले भने ।

प्रतियोगिता आयोजनाका लागि प्रायोजकले एक लाख ३५ हजार रुपैंया प्रदान गरेको छ । जुनियरतर्फका उत्कृष्ट खेलाडीलाई संघले विशेष तालिम प्रदान गर्ने अध्यक्ष महर्जनले बताए ।

यस्तै, महर्जनले खेलाडीको प्रोत्साहनमा पुरुष खुल्ला तर्फ प्रत्येक खेल जित्नेलाई ५०० प्रोत्साह पुरस्कार दिने बताए । उनले अन्य विधामा समेत आगामी खेलमा प्रोत्साहत पुरस्कार राखिने बताए ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले २५ हजार, उपविजेताले १५ र तेस्रो हुने दुई खेलाडीले समान ९ हजार प्राप्त गर्नेछन् ।

यता, महिलातर्फको विजेताले १८ हजार, दोस्रोले ११ र तेस्रो हुने दुई खेलाडीले समान ७ हजार पाउनेछन् । जुनियरतर्फको विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रो हुनेले समान ४ हजार प्राप्त गर्नेछन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com