चैत्र १२, २०८० सोमबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । एमालेले सरकारी सेवामा कार्यरत सबै कर्मचारीहरूलाई नियमित रूपमा काम गर्न पाउने गरी पेशागत सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभागले शुक्रबार विज्ञप्ति जारी गरी सरकारले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत हजारौं कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न लागेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी स्थायी कमिटीका सदस्य तथा विभागका प्रमुख किरण गुरूङद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ– ‘एमाले निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीहरूलाई विधि र प्रक्रियाविपरीत हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने गरी सरकारले गरिरहेको कारबाहीको भर्त्सना गर्दछ ।’

एमालेले देशको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन स्वच्छ, निष्पक्ष, जनउत्तरदायी र मर्यादित हुनुपर्ने बताएको छ । ‘राज्य र जनताका बीचका सम्बन्धहरूलाई सेवा प्रवाहमार्फत सजीव राख्ने र कानूनी राज्यको प्रत्याभूति दिलाउने काम पनि यही संयन्त्रको हो । वर्तमान गठबन्धन सरकार स्थायी कर्मचारीहरूको यो संयन्त्रलाई हतोत्साही बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको,’ विज्ञप्तिमा भनिएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com