काठमाडौं । साउन महिना पारेर पशुपति क्षेत्रमा एक भक्तजन एक बिरुवा रोपण अभियान सुरु भएको छ ।
पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा आजदेखि एक भक्तजन एक बिरुवा रोपण अभियान सुरु भएको हो । अभियानको सुरुआत गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रका खुला क्षेत्रमा धार्मिक प्रजातिका वृक्षरोपणलाई तीव्रता दिन निर्देशन दिए।
विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षरोपण अभियानले सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे। धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रूपमा विकास गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।
रोपेका बिरुवाको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई उनले निर्देशन दिए । पशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपीपल, पारिजात, वेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाउने योजना कोषको छ ।
कार्यक्रममा खाँदवारी नगर प्रमुख महेश थपलियाले एक लाख रुद्राक्षको बिरुवा उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । सो अवसरमा मुख्यसचिव शङ्करदास वैरागी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, कोषका सदस्यसचिव डा मिलनकुमार थापा, महानगरपालिका वडा नं ७ का अध्यक्ष विनोद हाडा, वडा नं ८ का अध्यक्ष आशामान सङ्गत र वडा नं ९ का अध्यक्ष रामजी भण्डारीलगायतले वृक्षरोपण गरेका थिए।
वृक्षरोपण अभियानका लागि जेबी फाउण्डेशनका अध्यक्ष जगदीश वैद्यले पनि अम्बासहित धार्मिक प्रजातिका ५१ हजार ९०० बिरुवा हस्तान्तरण गरेका थिए । यो अभियानअन्तर्गत साउन महिनाभर पशुपति क्षेत्रमा बिरुवा रोपिने जनाइएको छ ।
प्रतिक्रिया