माघ १६, २०७९ सोमबार । January 31, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

बद्री सिग्देलले धोका दिएको भन्दै सुदूरपश्चिमका पत्रकार बिद्रोहतिर

काठमाडौं । नेपाल प्रेस युनियनको साउन ६ र ७ गते हेटौडामा हुन गइरहेको नवौं महाधिवेशनमा उम्मेद्वारी चयनमा प्रेस युनियन संस्थापन पक्षमा व्यापक असन्तुष्टि देखिएको छ । मंगलबार दिउँसो शेरबहादुर देउवा पक्षीय संस्थापन पक्षले प्रधानमन्त्री निवास बालुवाटारमा बसेर प्रेस युनियनका आधिकारिक उम्मेदवार टुङ्ग्याएको थियो ।

अध्यक्षमा अनिता बिन्दु, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन नाथ दुलाल, कोषाध्यक्षमा माधव धितालको नाम टुंग्याइएको थियो । प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, डा। सुरेश आचार्य, पार्टी प्रवक्ता डा। प्रकाशशरण महत, नेपाल टेलिभिजनका अध्यक्ष समिरजंग शाह र ईश्वरी ओझासहितले बालुवाटारमा संस्थापन पक्षमा उम्मेदवारको नामको टुंगो लगाएका हुन् ।

अध्यक्ष सहित चार जना पदाधिकारीको नाम सार्वजनिक गरेसँगै नेपाल प्रेस युनियन संस्थापन पक्षमा व्यापक असन्तुष्टि देखिएको छ । सुदूरपश्चिमका पत्रकारले निर्णयप्रति पूर्ण असन्तुष्टि जनाउँदै विद्रोह गर्ने धम्की दिएका छन् । अध्यक्षकी उम्मेदवार अनिता बिन्दुले उपाध्यक्ष, महासचिव र कोषाध्यक्षसहित आफ्नो प्यानल घोषणा गर्न कार्निभलमा कार्यक्रम तय भएको सुनेपछि संस्थापन पक्षका पत्रकार आक्रोसित भएका थिए ।

प्रधानमन्त्री देउवालाई गुमराहमा राखेर संस्थापन पक्षका पत्रकारलाई वाइपास गरेर इतर पक्षका पत्रकारलाई भागबण्डामा उम्मेद्वार बनाएको भन्दै पत्रकार बिरोधमा उत्रिएका हुन् ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतको कोटाबाट अनिता बिन्दु, बद्री सिग्देलको कोटाबाट सरोज अधिकारी, नेता प्रकाशमान र महामन्त्री विश्व प्रकाश शर्माको कोटाबाट जगनाथ दुलाल र नेपाल टेलिभिजनका अध्यक्ष शमिरजंग शाहको कोटाबाट माधव धिताललाई उम्मेदवार बनाएपछि संस्थापन पक्षका पत्रकारहरु आक्रोसित भएका हुन् ।

चारैजना संस्थापन पक्षका नभएर इतर पक्षका भएको र देउवालाई गलत ब्रिफिङ गरेर आफ्नो फाइँदा हेरेको आरोप संस्थापन पक्षका पत्रकारहरुको दाबी छ । अध्यक्ष सिग्देललाई आफूहरुले नेता मानेर एकोहोरो समर्थन गरेको तर उम्मेद्वारी दिने बेला सुदुरपश्चिमका पत्रकारहरुलाई पाखा लगाएको भन्दै सुदूरपश्चिमका पत्रकारहरुले उम्मेद्वारीको निर्णय नसच्चिए बिद्रोह गर्ने जनाएका छन् ।

संस्थापन पक्षका पत्रकारको बलियो पकड रहेको सुदूरपश्चिमका पत्रकारहरुले आफूलाई अध्यक्ष वा महासचिव मध्ये एक प्रमुख कार्यकारी पद पाउनुपर्ने माग गरेका छन् । कार्यवहाक महासचिव भिष्म ओझालाई महासचिव बनाउनुपर्ने माग उनीहरुको रहेका छ । त्यसको बिकल्पमा केशव सावदलाई उनीहरुले महासचिवको उम्मेद्वार अगाडि सारेका थिए । साथै, सचिवमा मेनुका ढुंगाना, खगेन्द्र भण्डारी र कोषाध्यक्षमा पदमराज जोशी हुनु पर्ने उनीहरुको जबरजस्त माग रहेको जनाइएको छ ।

निर्णय नसच्याएमा उमिद बागचनलाई अध्यक्ष बनाएर पनि चुनावमा जान सकिने भन्दै अध्यक्ष सिग्देलसँग रस्साकस्सीसमेत भएको थियो । त्यसका लागि उनीहरु थुप्रै पटक काठमाडौं र सुदुरपश्चिममा भेलासमेत गरेका थिए । उमिद बागचनको नेतृत्वमा थुपैै पटक भएका भेलाले यो पटक सस्थापन पक्षबाट सुदूरपश्चिमबाट मुख्य पदमा उम्मेदवारी पाउने आशा उनीहरुको थियो । तर, अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहितको महत्वपूर्ण पदमा कसैलाई उम्मेद्वार नबनाएपछि बद्री सिंग्देलले धोका दिएको भन्दै सुदूरपश्चिमका पत्रकार विरोधमा उत्रिएका छन् ।

मंगलबार दुई बजे भएको अनिता बिन्दुको उम्मेद्वारी घोषणा सभालाई समेत उनीहरुले बहिस्कार गरेका छन् । अनिताको घोषणा सभामा खगेन्द्र भण्डारी र लोकेन्द्र भट्ट, बाहेक कुनै सुदूरपश्चिमका संस्थापन पक्षीय पत्रकार सहभागी भएनन् । प्रेस युनियनको कार्यालय थापागाँउमा गएर अध्यक्ष बद्री सिग्देलको कार्यकक्षमा गएर आफूलाई किन वाईपास गरेको भन्दै चर्काचर्की समेत भएको थियो ।
उमिद वागचन, भिष्म ओझा, हरिष भट्ट, मुकुन्द भण्डारी, पदमराज जोशी, मिन बम, श्रवण देउवा, योगेश रावल, केशव साउद, मेनुका ढुंगानासहित दर्जनौ पत्रकारहरु र अध्यक्ष सिग्देलबीच भनाभन समेत भएको थियो ।

उनी नेताहरुलाई फोनमा भनिरहेका थिए, मैले त भिष्म ओझालाई महासचिव बनाउन खोजेको हो त, उनी नै तयार भएनन् । तर, भिष्म भने आफूले कहिल्यै त्यसो नभनेको भन्दै प्रतिवाद गरिरहेका थिए । हामीले बद्रीलाई बोक्ने तर बद्रीले सुदूरपश्चिमलाई रोक्ने भन्ने बद्रीले प्रधानमन्त्री देउवालाई गुमराहमा राखेर इतर समूहका पत्रकारलाई विधान मिचेर उम्मेदवार बनाएको भन्दै विद्रोह गर्ने बताएका छन् । त्यसको नेतृत्व उमिद बागचनले लिएका छन् ।

सुदूरपश्चिमका पत्रकारले विरोध गरेपछि बालुवाटारले बद्रीलाई फोन गरेर तत्काल अनिता बिन्दुको बाहेक अरुको उम्मेद्वारी घोषणा नगर्न भनेको थियो । त्यसपछि अरु उम्मेद्वारको उम्मेदेवारी घोषणा रोकिएको थियो । सबैले बद्रीको विरोध गरे पनि आफूहरुले काध थापेको तर बद्रीले आफूहरुलाई माइनस गर्न खोजेको आरोप सुदूरपश्चिमका पत्रकारहरुको छ । महासचिवमा बिधान विपरित प्रेस युनियन काठमाडौंका बहालवाला अध्यक्ष जगनाथ दुलाललाई बनाइएकोमा सस्थापन पक्षीय पत्रकार आक्रोसित भएका छन् ।

अध्यक्षले विधान मिचेर मनपरि गरेको भन्दै सस्थापन पक्षका सुदूरपश्चिमका पत्रकारहरुले बिद्रोही उम्मेदवारी दिने बताएका छन् । भिष्मराज ओझा वा केशव साउदमध्ये एकलाई महासचिव, पदमराज जोशीलाई कोषाध्यक्ष, मेनुका ढुंगाना र खगेन्द्र भण्डारीलाई सचिवको उम्मेदवार बनाउनुपर्ने उनीहरुको माग छ । ३३ जना पदाधिकारीमा ५ जना माग्नु स्वभाविक भएको पत्रकार किशोर भट्टले बताए । उम्मेदवारी नसच्चिए बिद्रोही उम्मेदवारी दिने तयारी आफूहरुले गरिरहेको भट्टले बताए ।

सुदूरपश्चिममा १९४ मत छन् । यस बोहक काठमाडौं उपत्यकामा पनि ५० भन्दा बढी मत त्यहाँका पत्रकारको छ । त्यो मत एकमुष्ट जाँदा परिणाममा ठूलो फरक पार्ने गरेको छ । संस्थापन पक्षमा असन्तुष्टि बढेपछि इतर समूह उत्साहित भएको छ । स्थापनपक्षमा बिद्रोह गरिरहेका आकांक्षीलाई आफ्नो टीममा ल्याएर चुनाव लडाउने तयारी इतरको छ ।

सुदूरपश्चिममा आफ्नो पकड नभएकाले असन्तुष्ट मध्येका एक दुई जनालाई आफ्नो समूहमा ल्याउने कसरत इतरले गरेको छ । संस्थापन पक्षको असन्तुष्टिको फाइदा लिने मुडमा भए पनि इतर समूहले समेत उम्मेदवारी फाइनल गर्न सकेको छैन । अध्यक्षमा शिब लम्साललाई ल्याउने लगभग पक्का जस्तै भए पनि महासचिवमा घम्साघम्सी जारी छ । इतर समूहमा खिला कार्की, नकुल अर्याल, दिलिप पौडेल र रमेश वाग्ले मध्ये कसलाई महासचिव बनाउने मै टुंगो लागिसकेको छैन ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com