आश्विन ६, २०८० शनिबार । September 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारत भ्रमणमा रहेका आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अतिक्रमित नेपाली भूमि फिर्ताबारे त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राख्न सुझाव दिएका छन्।

शुक्रबारदेखि भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले आज मोदीसँग भेटवार्ता गर्दै छन्। त्यस बेला लिम्पियाधुरा, कालापानीको अतिक्रमित भूमि फिर्ताको मुद्दा उठाउन उनले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका हुन्।

अध्यक्ष प्रचण्डले शनिबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक सार्वजनिक कार्यक्रममा नेपाल–भारत बीचको १९५० को सन्धि पुनरवलोकन गर्नुपर्ने आवश्यकता औंल्याउदै त्यस निम्ति आह्वान गरेको जानकारी पनि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले दिएका छन्। त्यसैगरी प्रचण्डले ईपीजी प्रतिवेदन बुझ्न र सबै द्विपक्षीय विषय कूटनीतिक माध्यमबाट समाधान गर्न अपिल गरेको उनले बताएका छन्।

त्यसका लागि धन्यवाद दिँदै श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भारतीय प्रम मोदीसँगको भेटवार्तामा पनि लिम्पियाधुरा, कालापानीको अतिक्रमित भूमि फिर्ता गर्नेलगायत नेपालको राष्ट्रिय हितका उपरोक्त सबै मुद्दाहरू स्पष्टसँग राख्नु हुने आशा गर्दछु।’

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com