आश्विन ७, २०८० आइतबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशलाई निर्वाचनमा लैजानुको विकल्प नभएको बताएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकमा उनले देश निर्वाचनको मुखमा रहेको भन्दै अहिले पार्टीमा सुदृढ एकता आवश्यक रहेको बताए ।

उनले भने, ‘सभापतिले उदारता देखाउन जरुरी छ, र अरुले पनि निर्वाचन हुन लागेको समयको संवेदनशीलता बुझ्न जरुरी छ।’ काँग्रेसमा सबै पक्षका लागि स्पेस छ भन्ने वातावरण सभापतिले बनाउनुपर्ने पौडेलले बताए । ‘सँगसँगै सभापतिलाई कमजोर बनाएर अहिले काँग्रेस​ बलियो हुदैन भन्ने पनि स्विकार गर्नुपर्छ,’ उनले भने ।

निर्वाचनमा पार्टीलाई एक ढिक्का बनाएर जानुपर्नेमा उनको जोड थियो । ‘पार्टीका आन्तरिक छलफल र निर्णय प्रक्रियाहरूमा अन्तरविरोध बढाउने भन्दा पनि आम एकता कायम रहने गरी सभापति, पदाधिकारी तथा नेतृत्वले आ–आफ्नो भूमिका निभाउनु पर्नेछ,’ उनले भने, ‘ताकि निर्वाचनमा नेपाली काँग्रेस एक ढिक्का बनेर सशक्त ढंगले उभिन सकोस् ।’

उनले चुनावी गठबन्धनका लागि गठबन्धनको राम्रा–नराम्रा पक्षमा छलफल हुनुपर्ने धारणा पनि राखे । गठबन्धन नगरी सिट बढाउन सक्ने भए त्यस्तो उत्तम हुने र गठबन्धनमा नजाँदा विरुद्धमा बन्ने गठबन्धनको ध्यान दिन उनले सुझाए । यस्तै उनले विभाग तथा भ्रातृ संगठनहरुलाई विधान बमोजिम पूर्णता दिई परिचालन गर्नुपर्नेमा पनि जोड दिए । तल्ला तहहरुमा पनि अपुर्ण अवस्थामा रहेका समिति, विभाग तथा भ्रातृ संगठनहरुलाई विधान बमोजिम पूर्णता दिन आवश्यक निर्देशन दिनुपर्ने बताए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com