चैत्र १५, २०८० बिहिबार । March 29, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा रु ५७ लाख राहत रकम वितरण गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार बागलुङमा कोरोनाका कारण मृत्यु भएका ११४ जनाले रु ५० हजारका दरले राहत रकम बुझिसकेको बताए । “जिल्लामा कोरोनाले मृत्यु भएको सङ्ख्या ७२ हो तर जिल्लाबाट उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएकाको परिवारलाईसमेत राहत दिने नीति थियो”, गुरौले भने ।

सम्पर्कमा आएका र कागजात बुझाएकालाई खोजी–खोजी राहत दिएको भए पनि केही मृतकका परिवार राहत लिनै नआएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । घिमिरेले स्वास्थ्य कार्यालयले ५० हजार राहत रकम दिए पनि बागलुङका केही पालिकालेसमेत मृतकका परिवारलाई राहत रकम दिएको बताए । पालिकाको राहत विवरण स्वास्थ्य कार्यालयलाई नआउने भएकाले कुन पालिकाले कति राहत दियो भन्ने थाहाँ नभएको घिमिरेले जानकारी दिए ।

जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत दिएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७८(८९ मा विनियोजित गरेको रु तीन लाख ६० बजार बजेट अनुसार कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई रु २० हजारका दरले राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा कोरोना सङ्क्रमणका कारण १८ जनाले ज्यान गुमाएका थिए । रासस

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com