चैत्र १२, २०८० सोमबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका नेताहरूलाई बैठकमा बोलाएका छन्।

बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने कोइराला पक्षको भेलामा मुख्यगरी तीन विषयमाथि छलफल गर्ने तयारी छ। पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरिने बताइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी गतिविधि र सरकारका कामकारबाहीलाई सँगसँगै लैजान नसकेको भन्दै आलोचना भइरहेको छ।

साथै सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग तथा समितिहरूलाई पूर्णता दिएका छैनन्। गत मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन भएको थियो। विधानअनुसार छ महिनाभित्र कोषाध्यक्ष, केन्द्रीय समिति, कार्यसम्पादन, संसदीय समिति र विभाग गठन गरिनुपर्नेमा कुनै पनि कामलाई सभापति देउवाले पूर्णता दिन नसकेपछि आलोचना भइरहेको छ।

सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष मनोनीत गर्नुपर्ने हो। तर अहिलेसम्म कोषाध्यक्ष पद रिक्त छ। ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्नेमा देउवाले १३ जनालाई मात्रै मनोनीत गरेका छन्, उनीहरू सबै सभापति देउवानिकटका हुन्।

कांग्रेस केन्द्रीय कार्यसमिति १६९ सदस्यीय हो। सभापतिमा देउवासँग पराजित कोइराला स्वत केन्द्रीय सदस्य छन्। यस्तै केन्द्रीय कार्यसम्पादन र संसदीय बोर्डलाई पनि सभापति देउवाले पूर्णता दिएका छैनन्। सभापति देउवाले गत पुस १० मा कार्यभार सम्हालेका थिए। त्यो दिनदेखि गणना गर्दा पनि देउवा सभापति भएको छ महिना कटिसकेको छ।

कांग्रेसका युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री भएका बेला पनि विधान कार्यान्वयन हुन नसकेको भन्दै कांग्रेसभित्र आलोचनासमेत सुनिन थालेका छन्। महामन्त्रीद्वय थापा र शर्माले केही दिनअघि सभापति देउवालाई बालुवाटारमा भेटेर विधान कार्यान्वयन गर्न विभाग गठन लगायतका काम अगाडि बढाउन आग्रह गरेका थिए।

केन्द्रीय समिति बैठक आह्वान गरेर समसामयिक राजनीति तथा नीति महाधिवेशनलगायतका विषयमा छलफल गर्न उनीहरूले सभापति देउवालाई आग्रह गरेका थिए।

कांग्रेसको केन्द्रीय समिति बैठक चैतदेखि बसेको छैन। यसबीचमा वैशाख ३० मा स्थानीय चुनाव भयो। कांग्रेसले ०७४ मा भन्दा स्थानीय चुनावको परिणाममा सुधार गरे पनि निर्वाचनबारे समीक्षा भएको छैन।

सभापति देउवाको सचिवालय स्रोतका अनुसार अब एक साताभित्र केन्द्रीय समिति बैठक बोलाउने तयारी छ। साथै सभापति देउवाले स्थानीय तहका उम्मेदवार सिफारिसमा छलफल नगरेको, पार्टीका भ्रातृ संस्था नेविसंघ, तरूण दल, आदिवासी जनजाती र किसान संघमा अध्यक्ष चयन गर्न पनि सल्लाह नगरेकोमा कोइराला पक्ष असन्तुष्ट छ।

देउवाले दुजाङ शेर्पालाई नेविसंघ अध्यक्ष, विद्वान गुरूङलाई तरूण दल अध्यक्ष, ओम थापालाई आदिवासी जनजाती अध्यक्ष र गणेश तिमिल्सिनालाई किसान संघ अध्यक्ष नियुक्त गरेका थिए, उनीहरू सबै देउवानिकट मानिन्छन्। यस्तै सभापति देउवाले आफूनिकटलाई मात्रै पार्टीमा जिम्मेवारी दिने गरेको आरोप छ।

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख तोकेका छन्। खड्कालाई स्थानीय तह निर्वाचनको कमाण्डरसमेत बनाइएको थियो। कांग्रेसका दुई उपसभापति छन्। अर्का उपसभापति धनराज गुरूङलाई भूमिकाविहीन बनाएको आरोप पनि छ। गुरूङ कोइराला पक्षबाट उम्मेदवार भई उपसभापति जितेका थिए।

तर महामन्त्रीमा भने देउवाले गगन थापालाई अगाडि बढाएका छन्। थापा पनि कोइराला पक्षबाट उम्मेदवार भई निर्वाचित भएका थिए। थापा अर्का महामन्त्री शर्माभन्दा पार्टीमा सिनियर भएकोले उनलाई नै बरियताक्रममा अगाडि राख्दै देउवाले जिम्मेवारी दिएका छन्।

सभापति देउवाले आफूसँग सभापतिमा पराजित कोइरालालाई सम्मानजनक बरियता नदिएको आरोप पनि छ। कांग्रेस विधानमा वरिष्ठ नेता पद नरहे पनि रामचन्द्र पौडेललाई पहिलेदेखि नै वरिष्ठ नेताका रूपमा अगाडि बढाइएको छ। पौडेललाई पनि देउवाले सत्ता गठबन्धनका विभिन्न बैठकमा सहभागी गराउँदै भूमिका दिइरहेका छन्। महाधिवेशनमा पौडेल मौन बसेका थिए।

शेखरले आज राखेको भेलामा समसामयिक राजनीतिक विषयले पनि प्रवेश पाउनेछ। अब प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ। मंसिरभित्र ती निर्वाचन गर्ने गरी सरकारले तयारी गरिरहेको छ।

सत्ता गठबन्धनका पछिल्ला बैठकमा प्रतिनिधि सभा निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएका छन् भने चुनावी गठबन्धन बनाएर जानुपर्ने मत बलियो छ। कसले कति सिट लिने भन्नेबारे पहिले नै तय गरेर जानुपर्नेमा नेताहरू छन्। कांग्रेसले सभापति देउवालाई करिब ९९ सिट लिने गरी गठबन्धनमा जान दबाब दिइरहेका छन्।

कोइराला पक्ष स्थानीय चुनावका बेला पनि चुनावी गठबन्धनका पक्षमा थिएन। प्रतिनिधि सभा चुनावमा पनि गठबन्धन गर्न भन्दा नगर्दा नै कांग्रेसले धेरै सिट ल्याउने कोइराला पक्षका एक नेता दाबी गर्छन्।

तर पार्टी केन्द्रीय समितिले गर्ने निर्णय स्वीकारेर जाने पक्षमा कोइराला पक्ष छ। देशको बिग्रँदो आर्थिक अवस्थाबारे पनि कोइराल पक्षको भेलामा आज छलफल हुनेछ। शेखरले केही दिनअघि राष्ट्रिय योजना आयोजका पूर्वउपाध्यक्षहरू, अर्थविदहरूसँग छलफल गरेर आर्थिक अवस्था सुधार गर्ने उपायबारे कुराकानी गरेका थिए।

कोइराला पक्षले महाधिवेशनमा प्राप्त ४० प्रतिशत मतलाई सम्मान गर्न पनि सभापति देउवा पक्षलाई आग्रह गरिरहेको छ। मनोनीत गर्न बाँकी केन्द्रीय समितिमा आफूनिकटका नेतालाई पनि समेट्नुपर्ने उनीहरूको माग छ। उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्रीमा पराजित मीनेन्द्र रिजाललगायतलाई केन्द्रीय सदस्य मनोनीत गर्न कोइराला पक्षको माग छ।

सभापति देउवाले आफू पक्षबाट महामन्त्रीमा पराजित प्रकाशशरण महत र प्रदीप पौडेल दुवैलाई जिम्मेवारी दिइसकेका छन्। महतलाई प्रवक्ता र पौडेललाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ।

आफू पक्षबाट पदाधिकारीमा उठेर पराजित भएकाहरूलाई केन्द्रीय समितिमा समेटे पनि देउवाले कोइराला पक्षका नेताहरूलाई भने केन्द्रीय समितिमा मनोनीत गरेका छैनन्। सभापति देउवाले सबैलाई समेटेर सबैको सभापति हुने प्रण गरे पनि त्यसअनुसार व्यवहार नदेखाएको कोइराला पक्षको दाबी छ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com