चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

भैरहवा । कोभिड महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म पनि नपाएको भन्दै स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन् । आफूहरुले ज्यानलाई जोखिममा राखी कसैले हेर्न पनि नखोजेको विरामीका लागि अहोरात्र खटिए पनि हालसम्म कोरोना जोखिम भत्ता नपाएको भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

उनीहरूले संघर्ष समिति गठन गरी आन्दोलन गर्नुपर्ने स्थिति आएको बताए । २०७८ वैशाखदेखि पुससम्म खटिने स्वास्थ्यकर्मीहरूलाई सरकारले कोरोना जोखिम भत्ता दिने निर्णय गरे पनि हालसम्म पनि नपाइएको स्वास्थ्यकर्मी गोपाल उपाध्यायले भने । ‘हामीले धेरै पख्र्यौं अझैसम्म पनि सरकारले बेवास्ता गरेकाले बाध्य भएर यो अवस्थामा आउनुपरेको हो,’ उनले भने । अस्पतालका कर्मचारीले ७ असारमै संघर्ष समिति बनाएर आन्दोलनमा गएको उपाध्यायले बताए ।

भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ताबापतको रकम पाएका छैनन्। उनीहरूले साउनदेखि पुससम्मको एक करोड ४९ लाख ८० हजार रकम लिनुपर्नेछ । प्रदेश सरकार र संघीय सरकारले ५०–५० प्रतिशत जोखिम भत्ता ६ महिनाका लागि दिने उदघोष् गरेका थिए ।

संघर्ष समितिका सचिव जनकराज पन्तले अरु जिल्ला रकम आए पनि कोभिड डेडिकेटेड अस्पतालका स्वास्थ्यकर्मीले केही रकम नपाएपछि आन्दोलन गर्नुबाहेकको विकल्प नरहेको बताए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com