चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो ।

बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताए । उनले भने, “अहिले हावापानी दूषित छ, फोहर पानी खाँदा हैजा फलन सक्छ ।”

कतिपयले जारको भन्दै धाराको दूषित पानी खुवाउने गरेको पाइएको महानगरले जनाएको छ । हालका लागि सडकमा पानीपुरी र चटपटे बेच्न रोक लगाइएको हाछेँथुले बताए । महानगरले माइकिङ गर्दै २९ वटै वडामा जनचेतना फैलाउने काम गरिरहेको छ । स्वास्थ्यमा प्रतिकूल असर गर्ने क्रियाकलाप नियन्त्रण गर्नु आफ्नो कर्तव्य भएको महानगरले जनाएको छ । एक सातामा रोग नियन्त्रणमा नआए पानीपुरी विक्रिवितरणमा थप कडाइ गरिने हाछेँथुले जानकारी दिए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com