चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गमा सञ्चालन भएको नेपाल चेम्बर एक्स्पो २०२२ अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ ।

शनिबार साँझ प्रस्तुत गरिएको सो फेसन शोमा बंगलादेशी फेसनअन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमुनाहरु (याम्पमाथि देख्न पाइयो ।

सात चरणमा प्रस्तुत गरिएको उक्त फेसन प्रस्तुतिमा साडी, सलवार कमीज, कुर्ती, सर्टस्, पन्जाबी स्टाइल, टिसर्टलगायतका पहिरनसँगै लेदर तथा फ्याब्रिकमा तयार पारिएका विभिन्न एक्सेसरिज पनि प्रदर्शन गरिएको थियो । सो फेसन कार्यक्रममा प्रस्तुत गरिएका फेसनका विविध नमुनाहरू मूलतः मस्लिन, सिल्क, कटन फ्याब्रिकमा तयार पारिएका थिए ।

फेसन शोको अन्तिम प्रस्तुति भने खाडी वेयर थियो । काठमाडौ‌‌‌‍स्थित बंगलादेशी दूतावासको पहलमा प्रस्तुत गरिएको सो फेसन कार्यक्रमको संयोजन तथा कोरियोग्राफी फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने मोडलहरूको मेकअप तथा हेयरस्टालिङ ब्युटी गार्डेन, द ग्रुमिङ स्टेसनले गरेको थियो ।

बंगलादेश फेसन शोअन्तर्गत प्रस्तुत भएका फेसनशैलीहरूमध्ये केही भने बंगलादेशी फेसन डिजाइनरका सृजनाहरू थिए भने केही भने रेडी टू वेयर शैलीहरू थिए । आठ युवती तथा चार युवा मोडलको उक्त फेसन शो प्रस्तुतिलाई पूर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा नेपालका लागि बंगालादेशी राजदूत सलाउद्दीन नोमान चौधरीलगायत बंगालादेशी दूतावास तथा नेपाल चेम्बर अफ कमर्सका आमन्त्रितहरूको विशेष उपस्थिति थियो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com