काठमाडौंमा हैजाका बिरामी फेला परेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका दुई जनामा हैजाको जिबाणु पुष्टि भएको हो । झाडा पखाला भएर अस्पताल भर्ना भएका काठमाडौँ महानगरपालिका वडा नम्बर २८ बागबजारका १८ र २३ वर्षका दुई बिरामीको नमूना परीक्षणबाट हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सह प्रवक्ता डा।समिरकुमार अधिकारीले जारी गरिको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हैजाका दुबै बिरामी एकै परिवारका सदस्य रहेको जानकारी प्राप्त भएको छ। उनीहरुको हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ।’ मन्त्रालयले गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजन्य रोगको जोखिम धेरै हुने भएकाले पानी उमालेर वा क्लोरिन प्रयोग गरी पिउन, खानपान र सरसफाइमा ध्यान दिनसमेत आग्रह गरेको छ।
‘गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखला , हैजा तथा पानीजन्य रोहरु फैलिने हुँदा सतर्कता अपनाउन आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता रोगहरुबाट सुरक्षित हुन पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र व्ययक्तिगत सरसफाई विशेष गरी हातको सरसफाई तथा खानेकुराको सरसफाइलाई विशेष ध्यान पुर्याउनुका साथै खुल्ला रुपमा दिसापिसाव नगर्न र चर्पीको अनिवार्य प्रयोग गर्न तथा दिसा पिसाव गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुन अनुरोध गर्दछौँ।’
प्रतिक्रिया