चैत्र १२, २०८० सोमबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सरकारको एउटा घटक एकीकृत समाजवादीको स्थायी समिति बैठकले सरकारमा रहेका मन्त्री हेरफेर गर्न दुई साता अगाडि सचिवालयले गरेको निर्णयलाई अनुमोदन गरेको छ । अबका केही दिनमा नै आफ्नो पार्टीले गरेको उक्त निर्णयलाई सम्बोधन हुनेगरी मन्त्रिपरिषद् पुनर्गठन गराउने विश्वास एकीकृत समाजवादीको छ ।

दुई साता अगाडि एकीकृत समाजवादीको सचिवालयले आफ्नो पार्टीका पर्तmबाट सरकारमा रहेका पर्यटन मन्त्री प्रेमबहादुर आले, स्वास्थ्य मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठको ठाउँमा स्थास्थ्यमन्त्रालयको जिम्मेवारी दिने भवानी खापुङलाई, श्रम मन्त्रालयको जिम्मेवारी शेरबहादुर कुँवरलाई, शहरी विकास मन्त्रालयको जिम्मेवारी मेटमणि चौधरीलगायतलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।

तर, प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाका विभिन्न समितिमा मन्त्रालयमाथि दफावार समाप्त नभएकाले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्नु उपयुक्त नहुने भनेर मन्त्रिपरिषद् पुनर्गठनका लागि केही दिन फर्कन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाको आग्रह अनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि मन्त्रीपरिषद्को पनुर्गठनलाई केही दिन पछाडि धकेल्न सहमत भएका थिए ।
यसक्रममा गत यही असार दुई गते प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा संसद्मा उठेका प्रश्न र आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेटका सम्बन्धमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि अब मन्त्रिपरिषद् विस्तारको लागि बाटो खुलेको छ ।

प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीले गरेको प्रस्ताव अनुसार मात्रै नभएर सरकारमा समेल अन्य दलहरुको सिफारिसलाई समेत मनन् गरेर मन्त्रिपरिषद्मा व्यापक परिवर्तन गर्ने भएका छन् । बजेट निर्माणका सम्बन्धमा विवादमा परेका अर्थमन्त्री शर्मालाई कांग्रेसी सांसद्हरुले हटाउनुपर्ने माग गरिरहँदा यो माग माओवादी केन्द्रका सांसदहरुले समेत उठाउन थालेका छन् ।

यसकारण चर्को विवादमा तानिएका अर्थमन्त्री शर्मा समेत मन्त्रिपरिषद्को अब हुने पुनर्गठनबाट बाहिरिने स्थिति छ । उता, पार्टीको निर्णय अनुसार मन्त्रीको जिम्मेवारीबाट हटेपछि एकीकृत समाजवादीका वर्तमान मन्त्रीहरु प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाक्री र कृष्णकुमार श्रेष्ठले कस्तो प्रतिक्रिया व्यक्त गर्दछन् तथा कदम चाल्छन् भन्ने जिज्ञासा एकीकृत समाजवादीमा मात्रै होइन सरकारमा रहेका अन्य दलहरुबाट समेत उठेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com