चैत्र १२, २०८० सोमबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

गोरखा । स्थानीय निर्वाचन २०७९ सम्पन्न भएको महिना दिन पुग्न लाग्दासमेत गोरखाका ९२ प्रतिशत उम्मेद्वारहरुले खर्च विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालय गोरखाले तोकेको हदम्यादअनुसार आगामी ६ असारमा कार्यालय समयभित्र गोरखाका ११ वटै स्थानीय तहमा उम्मेद्वार बनेकाहरुले सम्पूर्ण खर्च विवरण बुझाई सक्नुपर्नेछ । तर, तोकिएको समय सकिन लाग्दासमेत हालसम्म जिल्लाका १७२ उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन् ।

निर्वाचनको नतिजा सार्वजानिक भएको ३० दिनभित्र आयोगलाई विवरण बुझाउनुपर्ने हुन्छ । सोहीअनुरुप जिल्ला निर्वाचन कार्यालयले सार्वजानिक सूचना जारी गरी विवरण बुझाउन सबै उम्मेदवारहरुलाई आग्रह गरेको थियो । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका दुई हजार २२ जनाले उम्मेदवारी दिएका थिए ।

यसैगरी ३३ जना कार्यपालिका सदस्य पनि थपिँदा दुई हजार ५५ जनाले विवरण बुझाउनुपर्ने निर्वाचन कार्यालयले जनाएको छ । जसअनुसार अब एक हजार २३ जनाले निर्वाचन खर्च विवरण बुझाउन बाँकी रहेको देखिन्छ । अहिलेसम्म मात्र ८।३६ प्रतिशतले विवरण बुझाएका छन् ।

विवरण आउने क्रम जारी छ । तर अब धेरै दिन छैन, कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले भने, आशा गरौं सबैले समयमै विवरण बुझाउनु हुनेछ । हालसम्म धार्चे गाउँपालिकाका १२, अजिरकोट गाउँपालिकाका १९, गोरखा नगरपालिकाका २९, बारपाक सुलिकोट गाउँपालिकाका १६ र गण्डकी गाउँपालिकाका १२ जनाले विवरण बुझाएका छन् ।

यसैगरी शहीद लखन गाउँपालिकाका १२, आरुघाट गाउँपालिकाका ५२, सिरानचोक गाउँपालिकाका ३, चुमनुब्री गाउँपालिकाका २, पालुङटार नगरपालिकाका ११ र भीमसेन थापा गाउँपालिकाका १ जना गरी कुल १६९ जनाले विवरण बुझाएका छन् । तीन जना कार्यपालिका सदस्यहरूले पनि निर्वाचन खर्च विवरण बुझाएको सूचना अधिकारी सुवेदीले जानकारी दिए । निर्वाचन सकिएको एक महिना पुग्न लाग्दा पनि अधिकाशं उम्मेद्वारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय चुनावमा नगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले अधिकतम चार लाख ५० हजार र गाउँपालिका अध्यक्ष वा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् । जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले भने ५० हजारसम्म खर्च गर्न पाउनेछन् ।

वडाध्यक्षका उम्मेदवारले भने नगरपालिकामा दुई लाख, गाउँपालिकामा एक लाख ५० हजारसम्म खर्च गर्न पाइने व्यवस्था आयोगले गरेको थियो । विगतको अभ्यासलाई हेर्ने हो भने निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले खर्च विवरण बुझाएको पाइँदैन ।

आयोगले तोकेको समयमा निर्वाचन खर्च नबुझाउने व्यक्तिलाई आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने गरी कारवाही गर्न सक्ने प्रावधान छ । यदी कसैले बुझाए पनि वास्तविक खर्च भन्दा पनि निकै न्यून विवरण बुझाएका हुन्छन् ।

निर्वाचनको परिणाम सार्वजानिक भए अनुसार ६ असारभित्र सबैले विवरण बुझाउने पर्ने कार्यालयले स्पष्ट पारेको छ । जसअनुसार अजिरकोट गाउँपालिका भित्रका उम्मेदवारले ३१ जेठ, आरुघाट, भीमसेन थापा र शहीद लखन गाउँपालिका उम्मेदवारले १ असार, गण्डकी र धार्चे गाउँपालिकाका उम्मेदवारले २ असार, गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिकाका उम्मेदवारले ३ असारभित्र निर्वाचन खर्च बुझाउनुपर्ने निर्वाचनले जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाका उम्मेदवारले ४ असार र चुमनुब्री गाउँपालिकाका उम्मेदवारले ६ असारभित्र खर्च बुझाइसक्नु पर्ने सुवेदीले बताए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com