आश्विन ९, २०८० मंगलबार । September 26, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले मर्जरका लागि सम्झौता गरेका छन् । शुक्रबार भएको प्रारम्भिक सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा मेगा बैंक नेपाल लिमिटेडको तर्फबाट अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेड दुवै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरूको रुपमा सबल एवम् सक्षम संस्थाको रूपमा परिचित छन् ।

मर्जरपछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’ हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा ज्योतीप्रकाश पाण्डे रहने सहमति भएको छ । त्यसैगरी मर्जरपछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकहरूको प्रतिनिधित्व रहनेछ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १८।३१ अर्ब तथा मेगा बैंक लिमिटेडको चुक्ता पुँजी १६।१२ अर्ब रहेकोमा दुवै बैंक मर्जरपछि चुक्ता पुँजी ३४।४३ अर्ब रूपैयाँ भएर सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ ।

त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको जगेडा तथा कोष १४।८२ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको ५।९२ अर्ब, कर्जा लगानीतर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको १७३।४६ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको १५०।४६ अर्ब र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको १८२।०१ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको १५२।०८ अर्ब रहेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com