मंसिर ८, २०८० शुक्रबार । November 25, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । एक समयमा लोकदोहोरी गीतलाई चर्चा ल्याउनु छ भने सबै श्रष्टाहरुले जोडी गायिकाका रुपमा छान्ने पहिलो नाम हो बिमाकुमारी दुरा । अनि श्रोताहरुले अत्याधिक खोज्ने स्वरकी धनी गायिका पनि त्यो बेलाको लागि उनै दुरा हुन् ।

उनले नेपाली लोकादोहोरीको क्षेत्रलाई अविस्मरणीय योगदान दिएकी छिन् । उनले गाएका नगन्य लोकदोहोरी गीतहरु चर्चित र कालजयी छन् ।

त्यस समयकी सबैभन्दा रोजाइकी गायिका दुराले गाएका छुट्यो मायाजाल, माझीदाइ पोखरा, जम्मु कश्मीरमा, हङकङ आईडीले, खैरेनीमा गेट, वनको काफल वनकै चरीलाई, यो दाजुको मिर्मिरे आँखा, पानसमा बत्ती बालेको, दमौलीमा गेट, भाग्य फुट्यो ऐना फुटे झैं, लगायतका थुप्रै गीतहरु आम श्रोतामा लोकप्रिय छन् । त्यसै गरी फुल्यो नीम पत्ता र लमजुङ तुर्लुङकोट पनि उनले गाएका कालजयी लोकगीत हुन् ।

उनले गाएका अन्य सयौं लोकगीतहरु चर्चित छन् । नेपाली माटोका शब्दमा सयौं हिट गीतमा आवाज दिएकी यी गायिकाले सधैंका लागि नेपाल छोडेकी छिन् ।

आफ्ना समकालीन थुप्रै गायक गायिकाहरुले आकर्षक बसाइका लागि अमेरिका रोजे पनि विमा भने यहीँ केही गर्ने भनेर बस्दै आएकी थिइन् । तर स्वदेशमै केही गर्ने भनेर लिएको अडान त्यागेर उनी अमेरिका नै पुगेकी छिन् ।

बिमाकुमारी चार वर्षदेखि अमेरिका बस्दै आएकी आफ्नी छोरीसँग अमेरिका पुगेकी हुन् । आफूले वर्षौंसम्म संघर्ष गरेर पनि जन्मभूमि छोड्दै गर्दा पनि उनले टिकटक भिडियोमा भावुक बन्दै बाध्यताले देश छोड्नु परेको उल्लेख गरेकी छिन् ।

आफूले जस्तो रोएर कसैले देश छोड्नु नपरोस् भन्ने उनको कामना रहेको छ । बिमाकुमारीले बोली सुँकसुकाउदै यहाँ न्याय कहाँ छ रु भन्दै गम्भीर प्रश्न गरेकी छिन् ।

आफ्नो गायन जीवनको सम्पूर्ण लगानी गरेर किनेको घर आफन्तले नै झुक्याएर हडपेको पीडा भोगेकी उनले पछिल्लो समय उक्त घर फिर्ताका लागि ठुलै कोसिस गरेकी थिइन् । एक वर्षसम्म निकै नै सकसपूर्ण दिनचर्या गुजारेकी बिमाले हरेक प्रयास गरे पनि घरलाई आफ्नो अधिनमा ल्याउन सकिनन् ।

अन्तत : उनी कहिल्यै नफर्किने भन्दै अमेरिका पलायन भएकी छिन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com