काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमै विवाद भएको छ । स्वतन्त्रबाट उम्मेदवारी दिइ निर्वाचित भएका मेयर बालेन्द्र साह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको पहिलो बैठकको निर्णयमा प्रक्रिया नमिलेको भन्दै जनप्रतिनिधिहरुले विवाद निकालेका हुन् । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले बैठकको निर्णय बाचन गरेर पारित भएको घोषणा गर्न लागेपछि जनप्रतिनिधिहरु आक्रोसित भएका थिए ।
त्यसैगरी जनप्रतिनिधिहरुले मेयर बालेनलाई बैठकको प्रक्रिया सिकेर आउन सुझाएका थिए । बैठकमा मेयर साहले ७ वटा एजेण्डा पेश गरेका थिए । एजेण्डाको पहिलो नम्बरमा जनप्रतिनिधिहरुको परिचय, दोस्रोमा मतदातालाई धन्यवाद ज्ञापन, तेस्रोमा फोहोरमैला व्यवस्थापन, चौथोमा सार्वजनिक शौचालयका लागि महानगरभित्रका रेस्टुरेन्ट तथा होटल प्रयोग गर्ने सम्बन्धमा, पाचौँ नम्बरमा महानगरको गुनासो लिन कल सेन्टर स्थापना गर्ने, छैटौं नम्बरमा भौतिक पूर्वाधार एम्बुलेन्स र सातौँ नम्बरमा विविध भनेर पेश गरिएको थियो ।
कार्यपालिकामा वडाध्यक्षहरुको रायपछि प्रमुख प्रशासकीय अधिकृत पौडेलले नै प्रस्ताव पारित गर्न लागेपछि विवाद उत्पन्न भएको हो । लाइभ नै गरेर सञ्चालन गरिएको बैठकमा अध्यक्षहरुले उठाएको प्रश्नमा मेयर साह र उपमेयर सुनिता डंगोलले जवाफ दिएपछि प्रशासकीय अधिकृत पौडेलले मेयरको अनुमतिले भन्दै निर्णय पढेर सुनाएका थिए । उनले फोहोर मैलाको सम्बन्धमा मेयर साहको संयोजकत्वमा दलीय प्रतिनिधित्वसहितको कार्यदल गठन गर्ने निर्णय सुनाए ।
कार्यदलको सदस्यहरूमा नेपाली काँग्रेसबाट दुई जना प्रतिनिधि, एमाले उपमेयर सुनिता डंगोलसहित २ जना र एकीकृत समाजवादीबाट एकजना प्रतिनिधि रहने निर्णय सुनाए । त्यसैगरी अन्य निर्णयपनि उनले प्रस्तावअनुसार सुनाए । जसमा महानगरका सम्पूर्ण ढलहरूको व्यवस्थापन गर्ने लगायतका विषय पनि समावेश गरिएको थियो । उनले निर्णयलाई अभिलिखित गरेर सबैलाई उपलब्ध गराउने भन्दै नगर कार्यपालिका बोर्ड बैठकलाई समापन गर्न बालेन साहलाई समय दिएको बताएका थिए । त्यसपछि वडाध्यक्षहरुको प्रतिवाद सुरु भएको थियो ।
वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले कहिलेको बैठकले यो निर्णय गरेको भन्दै प्रश्न तेस्र्याए । पौडेलले आजको बैठकले निर्णय गरेको भनेर जवाफ दिएसँगै अन्य वडाध्यक्षहरुले पनि प्रक्रिया नमिलेको भन्दै विरोधमा उत्रिए । एजेण्डा एउटा र निर्णय अर्को भएकोमा उनीहरुको आक्रोश थियो । एजेण्डा एकातिर र निर्णय अर्कोतिर गरेर हामीलाई आदेश दिने भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए ।
त्यसपछि पछिसर्दै पौडेलले निर्णय नभइ प्रस्ताव मात्रै गरिएको भन्दै आफ्नो अघिल्लो भनाइ सच्याएका थिए । तर, वडाध्यक्षहरु त्यतिले मात्रै रोकिएनन् । वडाध्यक्ष रिजालले भने, ‘तपाईँ (प्रशासकीय अधिकृत) ले पढेर सुनाउने होइन । एजेण्डा दिएर पास भनेर टेबुल ठटाएपछि पास हुन्छ । एकैचोटी कार्यकारीले पास गर्ने हो ? कार्यपालिकाका सदस्यहरु चाहिँदैन ?’ त्यसपछि पौडेलले भने, ‘यो त प्रस्ताव हो ।’ तर रिजाल रोकिएनन्, ‘यस्ता कुरा अरुसँग चल्छ, नगर कार्यपालिकामा चल्दैन ।’ उनीहरुले प्रशासकीय अधिकृतले पास भनिसकेकाले यो कुरा फिर्ता लिन दवाव दिए ।
त्यसपछि बाध्य भएर उनले आफूले निर्णय फिर्ता लिएको बताए । यतिगर्दा पनि जनप्रतिनिधि रोकिएनन् र भने, ‘पास भन्नेबित्तिकै हामी ताली ठटाएर जाने ? १ लाख ९० हजार जनताको भोट पाएर आएका जनप्रतिनिधिहरु छन् यहाँ । तपाईँले कार्यपालिकाका सदस्यहरुको मानमाथि अपमान गर्नुभयो । अब त्यो प्रस्ताव तपाईँले फिर्ता लिएर मेयर साबले टेबुल गर्ने अनि हामीले टेबुल बजाएर पास गर्ने ।’ त्यसपछि पौडेलले भने, ‘मैले फिर्ता लिएँ ।
मेयर साबलाई माइक दिएँ ।’ विवादकै बीचमा वडा नम्बर ७ का अध्यक्ष पनि मेयर बालेन साहमाथि खनिए । उनले साहलाई संसदीय नियम सिकेर आउन सुझाए । विवाद भएपछि साहले बुझाइमा गलत मात्रै भएको तर पास हुन बाँकी रहेको बताएका थिए । उनले सबैको हस्ताक्षर र कम्युटर टाइप समेत नभएकाले पास भइनसकेको बताएका थिए । तर वडा नम्बर ७ का अध्यक्षले साहलाई बैठक कसरी चलाउने भनेर सिकेर आउन सुझाव दिए । ‘प्रक्रियागत कुरा पनि भयो । प्रस्ताव गर्ने, समर्थन गर्ने, अनुमोदन गर्ने, माइन्युटिङ कसरी गर्ने, त्यो नै सिक्नुपर्ने भयो ।
सिक्नुस् । बैठकको प्रक्रियालाई चाहिँ अध्ययन गर्नुस् । बैठक कसरी चलाउने त्यो चाहिँ तपाईँले परामर्श गरेर आउनुप¥यो’, वडा नम्बर ७ का अध्यक्षले बैठकमा भने । त्यसपछि अवस्थालाई शान्त पाउँदै साहले एजेन्डालाई बुँदागत रुपमा बाचन गर्दै सदस्यहरुबाट पारित गराएका थिए । यसअघि प्रशासकीय अधिकृतले फोहोरमैला व्यवस्थापनबारे कार्यदलमा दलीय प्रतिनिधित्व रहने भनेको बुँदालाई पनि सच्याएर दलीय शब्द हटाएर ‘५ जनाको कार्यदल रहने’ बताएका थिए ।
प्रतिक्रिया