आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी कांग्रेसको प्रतिष्पर्धी नभएको बताएका छन्। बिहीवार चितवनको भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन्। उनले भने, ‘अहिले नेपालमा जुन राजनीति चलिरहेको छ, जुन राजनीतिक द्वन्द्व चलिरहेको छ। कांग्रेसको प्रतिष्पर्धा माओवादी केन्द्रसँग होइन, प्रचण्डसँग होइन। कांग्रेसको प्रतिष्पर्धा नेकपा एमालेको ओली प्रवृतिसँग हो। हाम्रो द्वन्द्व छ, हाम्रो असहमति छ।’

उनले मेयरका उम्मेदवार जगन्नाथ पौडेल पक्षहरू आफ्नो तर्क सुन्न नचाहेको र इमोसनमा, भावावेशमा, एउटा उत्तेजनामा उम्मेदवारी दिइरहेको आरोप समेत लगाए। ‘मैले आज बिहान मात्रै कृष्णलालजीलाई, भीमबहादुर श्रेष्ठजीलाई र जगन्नाथ पौडेलजीलाई म भएको ठाउँमा बोलाएर केही कुराहरू राख्न सुरु गरेँ। बसेर राम्रोसँग कुरा गरौँ भनेँ, तर उहाँहरूले अलिकति धैर्य राख्न सक्नुभएन। उहाँहरू चाँडै उठेर जान खोज्नुभयो। मलाई लाग्यो म जे तर्क दिँदैछु, त्यो तर्कलाई उहाँहरूले तर्कको रूपमा सामना गर्न तयार नभएको जस्तो लाग्यो। र इमोसनमा, भावावेशमा, एउटा उत्तेजनामा मात्रै उहाँहरू असन्तुष्टि व्यक्त गरेर उत्रिएको जस्तो मलाई लाग्यो’, नेता पौडेलले भने।

उनले आफूलाई केही नेता, कार्यकर्ताहरूले कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग मिल्न गएको भन्ने आरोप लगाइरहे पनि त्यो यथार्थ नभएको जिकिर गरे। वरिष्ठ नेता पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरंकुशतातिर देशलाई लैजान थालेपछि आफूले नै गठबन्धनको आह्वान गरेको पनि बताए।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com