मंसिर १६, २०७९ शुक्रबार । December 3, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

ईंश्वरनारायण मानन्धर, मेयर उम्मेदवार, भीमेश्वर नगरपालिका, दोलखा

नेपाल विद्यार्थी संघबाट राजनीतिमा उदाएका नेता हुन् ईश्वरनारायण मानन्धर । नेविसंघबाट तरुण दलहुँदै कांग्रेस राजनीतिमा सक्रिय मानन्धर अहिले भीमेश्वर नगरपालिकामा मेयरको उम्मेदवार बनेका छन् । कांग्रेसका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनी समाजसेवी, इमान्दार नेता र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । सधैं गरीव, निमुखा र ओझेलमा परेका वर्गको पक्षमा आवाज बुलन्द गर्ने मानन्धर जनप्रतिनिधिले शासक होइन, जनताका सेवक भएर काम गर्नुपर्ने ठान्दछन् । स्थानीय निर्वाचनमा केन्द्रित रहेर मानन्धरसँग सुरेश शिवाकोटीले साकुरा खबरका लागि गरेको कुराकानीको सम्पादित अंश :

भीमेश्वर नगरपालिका मेयरमा तपाईं केका लागि ?
मेरो उम्मेदवारी भीमेश्वर नगरपालिकामा सुशासन कायम गर्न, भ्रष्टाचार रहीत नगरपालिका बनाउन, अनियमितता हटाउन र नागरिकमैत्री स्थानीय सरकार बनाउन हो । अगाडिका जनप्रतिनिधिहरुले यस विषयमा खासै ध्यान दिन सकेनन् । भीमेश्वर नगरपालिका झन्डै ३० वर्ष कम्युनिस्टहरुको कब्जामा रह्यो । उनीहरुले जनताका जल्दाबल्दा समस्याको सम्बोधन गर्नेभन्दा पनि आफन्त र कार्यकर्ताको हितमा काम गर्न तल्लीन भए । त्यसकारण सर्वसाधारण नागरिकहरु सेवाबाट बञ्चित वाध्य भए । नगरवासीको इच्छा, आकांक्षा र चाहना अनुसार उनीहरुले काम गर्न सकेनन् । त्यसको विकल्पको रुपमा मेरो उम्मेदवारी रहेको छ ।
भीमेश्वरमा तपाईंले मेयर पदमा चुनाव जित्ने आधार के ?
यहाँ नेपाली कांग्रेसको नेतृत्वमा सत्तासिन गठबन्धन एकजुट भएर लागेका छ । त्यो गठबन्धनमा नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी समाजवादी एकढिक्का भएका छौं । म नेपाली कांग्रेसको मात्रै नभएर गठबन्धनकोतर्पmबाट नेतृत्व गरेर भीमेश्वर नगरपालिका मेयर पदको चुनावी अभियान छु । यहाँ गठबन्धन निकै कसिलो ढंगले अगाडि बढेको छ । गठबन्धनमा आबद्ध सबै पार्टीको साझा उम्मेदवारको रुपमा खडा भएको छु । त्यसकारण पनि हाम्रो जित सुनिश्चित जस्तै छ ।
तपाईंलाई भोट दिनुपर्ने ठ्याक्कै चुनावी एजेन्डा चाहीं के त ?
यस विषयमा पहिला नै भनिसकेको छु । सुशासन कायम गर्न र भ्रष्टाचार निर्मूल गर्न मेरो उम्मेदवारी हो भनेर । त्यसबाहेक पर्यटन र कृषिमा आधारित रहेर जनताका जन्दाबल्दा समस्याहरु समाधान गर्ने हो । दोखलाको भीमेश्वर नगरपालिका पर्यटकीय दृष्टिकोण महत्वपूर्ण मानिन्छ । त्यसैगरी धार्मिक, सांस्कृति र पुरातात्विक दृष्टिले पनि त्यत्तिकै महत्वपूर्ण छ । यसलाई प्रवद्र्धन र जगेर्ना गर्दै जनताका जीवीको पार्जनका लागि जोड्ने हो । पर्यटन विकासले स्थानीय युवाहरुका लागि रोजगारी सिर्जना गर्दछ । भौगोलिक विकटता भएर पनि दोलखा प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्ला हो ।

यति हुँदाहुँदै पनि विविध कारणले खासै विकास हुन सकेको छैन । कृषि उपार्जनबाट मात्रै यहाँको विकास सम्भव छैन । त्यसको लागि पर्यटन विकास, विस्तार प्रवद्र्धनको आवश्यकता छ । मेरो चुनावी एजेन्डामा पर्यटन प्रथामिकतामा परेको छ । किन भने पर्यटन विकास भयो भने यहाँका स्थानीय उत्पादनको सदुपयोग हुनुका साथै युवा वर्गमा खड्किएको बेरोजगारको समस्या धेरै हतसम्म हल हुन्छ । व्यापार व्यवसाय पनि फस्टाउँछ । पशुपालन तथा कृषि उपार्जनको सही सदुपयोग हुन्छ । किसान तथा व्यवसायीहरुले आफ्नो उत्पादन बिक्रीवितरण आयआर्जन गर्न टेवा पुग्दछ । त्यसमा मेरो विशेष जोड रहने छ । त्यसकारण पर्यटन व्यवसायलाई अगाडि बढाउन पाइयो भने भीमेश्वर नगरपालिकालाई अगाडि लान सकिन्छ भन्ने मेरो धारणा छ ।

अवसरको खोजीमा विदेशिने युवाहरुलाई पर्यटनको क्षेत्रबाट स्वदेशमै रोजगारी दिलाउन के गर्नुपर्छ ?
एकदमै सही कुरा उठाउनुभयो । युवाहरुलाई रोजगारीको सम्भावना भनेको पर्यटन क्षेत्र मात्रै हो । हाम्रो देशमा अन्य उद्योग धन्दाहरु त्यति छैनन् । त्यसपछि भनेको कृषि उपार्जन हो । कृषिमा मात्रै आधारित रहेर ती युवाहरुलाई थेग्न सकिने भएन । त्यसकारण नेपाली युवाहरु दुबई, कतार मलेसियालगायत खाडी मुलुकको ४५, ५० डिग्री तापक्रममा काम गर्न वाध्य छन् । त्यसरी विदेसिएका युवालाई स्वदेशमै रोक्नका लागि कृषिलाई आधुनिकीकरण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, कृषि उपार्जनको लागि बजार प्रवद्र्धन गर्ने, स्थानीय स्रोत परिचालन गरी त्यसका आधारमा युवा शक्तिलाई रोजगारी दिलाउने हाम्रो मान्यता हो ।
त्यसको लागि व्यवसायिक तथा सीपयुक्त शिक्षाको आवश्यकता पर्दैन ?
खासगरी हाम्रा युवाहरुले स्वदेश तथा विदेश जहाँ गएर पनि उचित पारिश्रमिक पाउन सकेका छैनन् । त्यसको लागि उनीहरुलाई प्राविधिक तथा व्यवसायिक शिक्षाको आवश्यकता छ । कामको आवश्यकता अनुसार सीप भएका व्यक्तिले उचित पारिश्रमिक पाउँछन् । बेरोजगार बस्नुपर्दैन । स्वरोजगारीमुखी हुन सक्छन् । त्यसको लागि म भीमेश्वरको मेयर भएँ भने दक्ष, व्यवसायिक सीपयुक्त जनशक्ति उत्पादनको लागि जोड दिने छु । जसको माध्यमबाट युवाहरु स्वरोजगार मुखी हुन् । ती व्यक्तिहरु पर्यटन, कृषि, पशुपालन र जडिबूटी जुनसुकै क्षेत्रको लागि पनि उपयुक्त हुन सक्छन् । त्यसको लागि मेरो पहलकदमी हुने छ ।
गरवासीको वास्तविक समस्यालाई कसरी नियाल्नुभएको छ ?
अहिलेसम्म नागरिकहरुले स्थानीय सरकारको महसुस गर्न पाएका छैनन् । जताततै भ्रष्टाचार, अनियमितता, अराजकता मौलाएको छ । जनतामा नैरास्यता छाएको छ । जुनसुकै क्षेत्रमा कर मात्रै लगाइएको छ । जनताका जल्दाबल्दा समस्याको खोजी गरिएको छैन । विकासको नाममा बिनास गरिएको छ । विकासको नाममा आएको पैसा चुनावका बेला आफ्ना कार्यकर्ता र आसेपासेलाई बाँड्ने गरिएको छ । देखाउन र झुक्याउनका लागि बाटो खनेजस्तो गरिएको छ । त्यसलाई पीच गर्ने, स्तरोन्ती गर्ने काम गरिएको छैन । जनताका दैनिक काममा ढिलासुस्ती गरिएको छ । जसको लागि जनतामा उत्साह देखिँदैन । शिक्षा, स्वास्थ्य र सुशासनको क्षेत्रमा त्यत्तिकै हेलचेक्र्याइँ गरिएको छ । त्यसकारण भीमेश्वरलाई नगरपालिका जस्तो बनाउन धेरै काम गर्नुपर्ने छ । जनताको काम गर्न पार्टीगत रुपमा हानथाप गरिएको छ । त्यसले सोझा, निमुखा र आवाज बिहीनहरुको काम हुन सकेका छैनन् । यी यावत समस्या समाधानका लागि सम्पूर्ण नगरवासीको साझा रुपमा काम गर्ने मेरो प्रतिवद्धता छ।
त्यसोभए कम्युनिस्टहरुले विकासको नाममा सस्तो लोकप्रियता मात्रै अलापे दीर्घकालीन काम गर्न सकेनन् हो ?
कम्युनिस्टहरु कामभन्दा बढी हल्ला गर्दै आए । विगत ३० वर्षदेखि नै भीमेश्वर नगरपालिकामा कम्युनिस्टहरुकै राज चल्दै आयो । योबीचमा जति पनि विकास निर्माणका योजना, आयोजनहरु आए । त्यसमा उनीहरुले जहिले पनि आफ्ना नातागोता, आसेपासे र कार्यकर्ता मात्रै पोस्ने काम गरे । सोझा, निमुखा र आवाजबिहीन जनताका काम पटक्कै भएनन् । अहिले कम्युनिस्टहरु जुन–जुन ठाउँमा हालीमुहाली गरेका छन् । उनीहरु जताततै भ्रष्टाचार, कुशासन र अनियमिततामा लिप्त भएको देखिन्छ । स्थानीय प्रतिनिधिहरु आफै ठेक्का, पट्टा र कमिसनमा केन्द्रित छन् । यी र यस्ता याबत विकृति, विसंगति र कुशासनविरुद्ध नेपाली कांग्रेसको नेतृत्व गरेको गठबन्धन दलका उम्मेदवारहरु हुनुहुन्छ चुनावी मैदानमा । जस्तो मेयरमा म छु, अर्का साथी उपमेयरमा हुनुहुन्छ । त्यसैगरी वडा अध्यक्षमा कतै माओवादीका साथीहरु हुनुहुन्छ, कतै अरु साथीहरु हुनुुहुन्छ । त्यस्तै वडा सदस्यमा कतै माओवादीका, कतै समाजवादीका साथीहरु हुनुहुन्छ । कतै नेपाली कांग्रेसका साथीहरु हुनुहुन्छ । यसरी एमालेको भ्रष्टाचार, अनियमितता, कुशासन र अराजकताबिरुद्ध भएको गठबन्धन एकढिक्का भएर चुनावी अभियानमा जुटेका छौं ।

त्यसोभए त्यहाँ तपाईंलगायत गठबन्धनको सुनिश्चित छ हो ?
हो । अब निर्वाचन आउन सात दिन बाँकी छ । त्यसपछि तपाईंहरुले भीमेश्वरको नतिजा थाहा पाउनुहुने छ । यहाँ गठबन्धनमा कुनै विवाद छैन । म नेपाली कांग्रेसको मात्रै उम्मेदवार होइन । गठबन्धन दलहरुको पनि उम्मेदवार हुँ । नेपाली कांग्रेसको नेतृत्वमा भएको गठबन्धनका सबै उम्मेदवारको जित सुनिश्चित छ । खाली भोट गनेर घोषणा गर्न मात्र बाँकी छ । यहाँ नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादी तिनवटै पार्टीको मलाई सहयोग, समर्थन जुटेको छ । त्यसकारण चुनाव जित्न हामीहरु ढुक्क छौं ।

पहिलाका जनप्रतिनिधिबाट जनता आजित छन्, उहाँहरुलाई कसरी आश्वस्त पार्नुहुन्छ ?
हिजोका जनप्रतिनिधिबाट जे/जस्ता कमीकमजोरीहरु भए । त्यसलाई सुधार गर्न हामी कठिबद्ध छौं । यसपटक म लगायत हाम्रो गठबन्धनका साथीहरुलाई जिताएर सेवा गर्ने मौका दिनुहोस् । विगतको इतिहासलाई सम्झेर आफ्नो छातिमा हात राखेर सही निर्णय गरिदिनुभयो भने तपाईंहरुको भलाइ हुने छ । त्यसकारण तपाईंले भोट हाल्दा नेपाली कांग्रेसको नेतृत्वमा रहेका गठबन्धन दलका उम्मेदवारहरु मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्यहरुलाई भोट हालिदिनको लागि अपिल गर्दर्छु । हिजोको अनियमितता र कुशासनको विकल्पको रुपमा तपाईंहरु समक्ष हामी आएका छौं । यदि हामीप्रति तपाईंहरुको आशा, भरोसा र विश्वास छ भने तपाईंहरुको मतको दुरुपयोग गर्दैनौं । हामी भ्रष्टाचारको मामलामा सून्य सहनशीलताको नीति अवलम्बन गरी कसम खाएर तपाईंहरुको सेवाका निमित्त अगाडि बढ्ने छौं । अहिले मत दिएर हामीलाई सहयोग गर्नुहोस्, विजयी भइसकेपछि तपाईंहरुको सेवामा अहोरात्र लागिपर्ने छौं ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com