चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि यही जेठ २३ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन९आइपिओ० बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्ने कूल शेयरमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–२, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका–४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि निष्काशनको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका– ५, ६ र ७ र मन्थली नगरपालिका–११, १२ र १३ तथा रामेछाप नगरपालिका–१ र ३ का बासिन्दाका लागि निष्काशनको २५ प्रतिशत अर्थात् तीन लाख ९८ हजार २५० कित्ता शेयर बिक्रीका लागि दर्खास्त आह्वान गरेको हो ।

त्यस्तै रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–१ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका–१, २ र ३ का बासिन्दाका लागि बाँकी पाँच प्रतिशत अर्थात् ७९ हजार ६५० कित्ता शेयर छुट्याइएको छ ।बिक्री खुला गरिने शेयरमा स्थानीय लगानीकर्ताले आगामी असार ६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २१ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै नेपाल एसबिआइ बैंकको ओखलढुङ शाखा, साङ्ग्रिला डेभलपमेन्ट बैंक रामेछापको मन्थली शाखा र कम्पनीको आयोजनास्थलको कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले रामेछापको लिखु तामाकोसी गाउँपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिकाको सिमाना भएर बहने लिखु नदीको बहाव प्रयोग गरेर २८दशमलव एक मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–बिबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com