चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

बालेन्द्रको जितमा काठमाडौंमा विशाल र्‍याली गर्ने तयारी, ट्राफिक व्यवस्थापनमा कठिनाइ हुने संकेत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सकिनै लाग्दा बालेन्द्र साहका समर्थकहरुले भव्य र्‍यालीको तयारी गरेका छन् । आजै उनलाई काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएको औपचारिक घोषणा हुने सम्भावनाकाबीच उनका समर्थकहरुले विशाल र्‍यालीको तयारी गरेका हुन् । ।

सामाजिक सञ्जालमा व्यापक रुपमा बालेन्द्रको पक्षमा समर्थक बटुल्ने माहोल बनाउन सक्रिय रहेका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले फेसबुकमा र्‍यालीको तयारी भएको बारेमा लेखेका छन् । उपाध्यायका अनुसार जुलुस राष्ट्रिय सभागृहबाट भद्रकाली, शहीदगेट, हुँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्नेछ ।

त्यहाँबाट फेरि स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गरिने छ ।

मेयरमा विजयी भइसकेपछि बालेन्द्रले भने बुधबार आफूले घोषणापत्रमा उल्लेख गरेका बुँदाहरुको कार्यान्वयन नहुन्जेल विजयोत्सव नगर्न र यसका लागि काठमाडौं उपत्यका बाहिरबाट कोही नआउन आग्रह गरेका थिए । विजयोत्सवको साटो धन्यवाद र्‍याली निकाल्न समर्थकलाई उनको अपिल रहेको थियो ।

बालेन्द्रको अपिल बमोजिम नै निकालिने र्‍यालीमा सहभागीको संख्या ठूलो हुन सक्ने भएकाले काठमाडौंको सवारी आवागमन प्रभावित बन्ने देखिएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com