चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले सोमबार साँझ भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

सङ्घका अध्यक्ष जङ्गबहादुर मल्ल नेतृत्वको टोलीले भारतको बनबासामा मुख्यमन्त्री धामीलाई भेटेर बनबासा पुलमा २४सै घण्टा आवागमन सहज हुनुपर्ने, दोधारा चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाहसित जोड्न भारतले आफ्नो भूमिमा सडक, पुल, रेल्वेलगायतको संरचना जोड्न निर्माणमा पहल गर्नलगायतका माग राखेर ज्ञापन बुझाएको हो ।

“यसअघि दैनिक चार घण्टा खुल्ने पुल मुख्यमन्त्रीज्यूकै पहलमा अहिले सात घण्टा खुलिरहेको छ”, वाणिज्य सङ्घका अध्यक्ष मल्लले भन्नुभयो, “ पूर्णागिरिबाट खटिमा बजारसम्म नेपाली सवारीसाधन चल्न पाउनुपर्ने माग पनि राखेका छौँ ।”

सङ्घले कृषि क्वारेन्टिन नहुँदा समस्या भइरहेको जनाउँदै क्यारेन्टिन स्थापनाका लागि पनि माग गरिएको जनाएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री धामीले नेपाल–भारतको परापूर्वकालदेखि धार्मिक र आर्थिक सम्बन्ध रहेको बताउनुभयो । “नाका खुलाउनुपर्ने विषय आवश्यकताको विषय पनि हो”, उहाँले भन्नुभयो, “यो विषयमा यथाशीघ्र पहल गर्नेछौँ ।”

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com