आश्विन ६, २०८० शनिबार । September 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । अदालतबाट एक दिन कैद र रु नौ लाख जरिवाना तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–३ बस्ने वर्ष ३७ का प्रकाश रेग्मी रहेका छन् । उनले विसं २०७६ कात्तिक १० मा मुक्तिनाथ विकास बैंक लिमिटेड महाराजगञ्ज शाखामा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएका थिए ।

उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनको यही जेठ ३ गतेको फैसलाले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा एक दिन कैद र रु नौ लाख जरिवाना हुने ठहर गरेको थियो ।

त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले आज उनलाई बूढानीलकण्ठबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरेको जनाइएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com