आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना परिणाम आइरहँदा महोत्तरी जिल्लाको दुई वटा पालिकामा क्रमशः नेकपा एमाले र नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार गए राति सम्पन्न मतगणना परिणामअनुसार जिल्लाको रामगोपालपुर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका रामदुलार साह पाँच हजार ३४९ मत ल्याएर विजयी हुनुभयो । त्यस्तै उपप्रमुख पदमा सोही पार्टीकी रिनादेवी यादवले चार हजार २६३ मत ल्याएर विजयी हुनुभभएको छ ।

सो पालिकामा प्रमुख र उपप्रमुखका निकटतम प्रतिस्पर्धी क्रमशः नेकपा माओवादी केन्द्रका अशोककुमार मण्डल र नेपाली कांग्रेसकी पुष्पादेवी कुशवाहा रहेका छन् । उनीहरुले क्रमशः तीन हजार ५८६ र तीन हजार ४०३ मत ल्याएका छन् ।

त्यसैगरी गए राति नै सम्पन्न मतगणना परिणाम अनुसार जिल्लाको मनरासिस्वा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका मोहन पाण्डेय पाँच हजार ८८४ मत ल्याएर विजयी हुनुभयो भने उपप्रमुख पदमा सोही पार्टीकी सकुन्तला देवीले पाँच हजार ७४५ मत ल्याएर विजयी हुनुभयो ।

सो पालिकामा प्रमुख र उपप्रमुखका निकटतम प्रतिस्पर्धी क्रमशः जनता समाजवादी पार्टीका महेन्द्र राय र सोही पार्टीका निर्मलाकुमारीदेवी सिंह रहेका छन् । उनीहरुले क्रमशः चार हजार ९२० र चार हजार ८४२ मत ल्याएका छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com