मंसिर २२, २०८० शुक्रबार । December 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा कर्णबहादुर थापा मगर र उपाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी भएका हुन् ।

मगरले नौ हजार २ सय ३९ मत प्राप्त गरी अध्यक्षमा विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार छत्र दाहालले ८ हजार ४२ मत प्राप्त गरी पराजित भएका छन् । मगर १ हजार १ सय ९७ मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्र गठबन्धनका उम्मेदवार धनबहादुर पुलामी ८ हजार ३ सय ९९ मत प्राप्त गरी विजयी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पदममाया तामाङले ७ हजार ९०८ प्राप्त गरी पराजित भएकी हुन् । तामाङ यसअघि एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष हुन् । एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका दाहाल २०७४ सालको निर्वाचनमा १९ मतले पराजित भएका थिए ।

त्यस्तै वडा नंम्बर २, ३, ४, ६, ७, ८, ९, १० र ११ मा गठबन्धनबाट नेपाली कांग्रेस विजयी भएको छ । त्यसैगरी वडा नं १ र ५ मा भने एमाले विजयी भएको छ । वडा नं १ बाट एमालेका गोविन्द राउत र वडा नं ५ मा भुपाल तामाङ विजयी भएका छन् ।

अन्य वडामा गठबन्धनका कांग्रेसबाट वडा नं २ मा मुकुन्द पौडेल वडा नं ३ मा लालबहादुर स्याङतान, ४ मा खड्गबहादुर भुजेल, वडा नं ६ मा वीरबहादुर पुलामी, वडा नं ७ मा युवराज पहाडी, ८ मा कृष्णप्रसाद गौतम वडा नं ९ मा मोहन गौतम, १० मा पुण्यहरि भुजेल र वडा नं ११ मा तिलकबहादुर बस्नेत अध्यक्षमा विजयी भएका हुन् । विसं २०७४ को स्थानीय निर्वाचनमा उपाध्यक्षसहित बहुमत वडा जितेको एमाले २०७९ मा आइपुग्दा दुई वटा वडामा खुम्चिएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com